Shittalpati
बगनासकाली गाउँ सरकारको कोभिड केन्द्रित नीति–कार्यक्रम तथा बजेट

रामचन्द्र रायमाझी

पाल्पा,जिल्लाको बगनासकाली गाउँ सरकारले कोभिड–१९ केन्द्रित नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । बुधबार दशौं गाउँसभामार्फत गाउँपालिकाले कोभिड नियन्त्रण र व्यवस्थापनमा केन्द्रित गर्दै आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

कोभिड–१९ को महामारीले गाउँपालिकाको विकासमा पनि प्रभाव पारेको र आगामी वर्षको नीति तथा कार्यक्रम कोभिड नियन्त्रण र व्यवस्थापनमा केन्द्रित हुनु परेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । उनले भने ‘कोरोनाबाट प्रभावित गाउँवासीलाई सहयोग हुने प्रकृतिका योजना र कृषि क्षेत्रको विकास, प्रोत्साहन र रोजगारका कार्यक्रमलाई प्रथमिकतामा राखिएको छ ।’

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४६ करोड, २६ लाख ३२ हजार ४ सय ३७ बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले कोभिडबाट प्रभावित हुन पुगेको स्वास्थ्य, कृषि , रोजगार र पूर्वाधार निर्माणमा केन्द्रित गर्दै नीति,कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् । नीति,कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै उनले गाउँपालिकाले चालु आर्थिक वर्षमा कोरोना महामारी रोकथाम तथा नियन्त्रण, व्यवस्थापन लगायत अन्य विपद् व्यवस्थापनलाई सम्बोधन गर्ने गरी १ करोड विनियोजन गर्ने प्रस्ताव गरिएको बताइन् । उनले संक्रमणको संवेदनशील अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्यतर्फ ४० लाख विनियोजन प्रस्ताव गरिएको पनि जानकारी गराइन । उपाध्यक्ष चिदीले गाउँपालिकाले प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन गर्ने गरी नीति र कार्यक्रम ल्याएको जानकारी दिइन् ।

गाउँपालिकाको नीति कार्यक्रममा कोभिड–१९ बाट प्रभावित क्षेत्रका लागि सुलभ कर्जा, ब्याजमा अनुदानदेखि उत्पादनमुखी कार्यक्रम र रोजगार सिर्जना प्राथमिकतामा राखिएको छ । कोभिडको उपचार र व्यवस्थापनका लागि पूर्वाधार निर्माण, औषधि, उपकरण र जनशक्ति व्यवस्थापन कार्य प्राथमिकतामा छ । कर्मचारीका लागि प्रोत्साहनका कार्यक्रमदेखि विदेशबाट गाउँफर्किएका युवाहरुलाई गाउँमै रोजगार सम्मका विषयलाई गाउँपालिकाले प्राथमिकतामा राखेको छ ।

प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीलाई नेपाल सरकारले निर्धारण गरे बमोजिम १५ हजार न्यूनतम मासिक पारिश्रमिक उपलब्ध गराउने, गाउँभित्र रहेका बेरोजगार जनशक्तिलाई सीप, उद्यमशील विकास, तालिम प्रदान गरी व्यवसायी सञ्चालन गर्न सहुलियत पूर्ण कर्जा प्रवाह गरी स्वारोजगार बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । गाउँपालिकाले कोभिड महामारीका बेला अनवरत रुपमा काम गर्दै आएका राष्ट्र सेवक कर्मचारीको मनोवल उच्च बनाउदै सेवाप्रवाहलाई थप प्रभावकारी बनाउन संघीय र प्रदेश सरकारले घोषण गरे अनुरुप राष्ट्रसेवक र करार सेवामा कार्यरत कर्मचारीको तलवमान मासिक दुई हजार वृद्धि गरेको छ । यस्तै पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्न गाउँपालिकाले स्थायी राष्ट्रसेवक कर्मचारीलाई १५ दिनको पारिश्रमिक बराबरको रकम सहित पर्यटन काज उपलब्ध गराउने नीति तथा कार्यक्रममा समावेश गरेको छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन युवा तथा खेलकूद, गरिबी निवारण, सहकारी, सामाजिक परिचालन, सूचना तथा सञ्चार, बालबालिका, महिला, जेष्ठ नागरिक, आदिवासी जनजाती, अपाङ्ग, सिमान्तकृत बोटे र कुमाल जातिलाई समेत मध्यनजर राखी प्राप्त सा्रेत साधनको दायरा भित्र रहेर कार्यक्रम तथा बजेटद्वारा यथोचित सम्बोधन गर्ने प्रयास गरेको छ । उसले आर्थिक वर्ष २०७७/०७८ को जेष्ठ मसान्तसम्म ४८.६३ प्रतिशत मात्र बजेट खर्च गरेको छ । पुंजीगत खर्चतर्फ ४ करोड ६९ लाख ३४ हजार १ सय ९४ अर्थात् ३३.१० प्रतिशत र चालुतर्फ १८ करोड ६३ लाख ७५ हजार ३ सय ९९ अर्थात् ५५.१५ प्रतिशत बजेट खर्च भएको हो । यसको समग्र खर्च बजेट ४८.६३ हुन आउँछ । गाउँपालिकाले कार्यक्रमका अवसरमा कर्मचारीलाई समेतच सम्मान गरेको छ ।

 

प्रकाशित मिति: बुधबार, असार ९, २०७८  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update