Shittalpati
तानसेन सरकारले गर्‍यो नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्न पत्रकारसँग छलफल

पाल्पा,जिल्लाको तानसेन नगर सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्न जिल्लाका पत्रकारहरुसँग छलफल तथा अन्तक्र्रिया गरेको छ । शुक्रबार नगरसरकारले आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने विषयका बारेमा पत्रकारहरुसँग गहन छलफल गरेको हो ।

छलफलमा नगर प्रमुख अशोक कुमार शाहीले सरकारको चौथो अंगको रुपमा रहेको पत्रकार जगतबाट आएका सुझावलाई आगामी नीति तथा कार्यक्रममा समावेश गर्ने गरी छलफल कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रममा नगर प्रमुख शाहीले नगर सरकारले गरेका गतिविधिका विषयमा समेत पत्रकारहरुलाई जानकारी गराएका छन् । उनले चालू आर्थिक बर्षसम्म आई पुग्दा दुई हजार भन्दा धेरै परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्न सफल भएको बताए । प्रमुख शाहीले बाल अधिकार र शिक्षा, स्वास्थ्यका विषयमा गम्भीर भएर लाग्ने वातावरण नगर सरकारले सिर्जना गरेको जानकारी दिए ।

आगामी नीति तथा कार्यक्रममा बालिका शिक्षा, युवा स्वरोजगार,कृषिलाई निर्वाहमूखी भन्दा निर्यात मूखी गर्न लागिएको उनले बताए । कृषकहरुको उत्पादनलाई विचौलियाहरुबाट हुने हावी रोक्ने क्रममा पनि नगर सरकारले जोड दिदै आएको र दुग्ध उत्पादन तथा बजारीकरणलाई प्राथमिकता दिदै बैंक र वित्तीय संस्थाहरुसँग समन्वय गरेर जाने पनि नगर प्रमुख शाहीले बताए ।

उनले पर्यटन क्षेत्रमार्फत आर्थिक समृद्धि हासिल गर्न पर्यटनमा एग्रो टुरिजमलाई प्राथमिकतामा राखिने बताए । महामारीका बेला नगरपालिकाले यो बर्ष व्यवसायिक करको दायरालाई नबढाएको उनले स्पष्ट पारे । दैविक प्रकोप र महामारीका बिच नगरपालिकाले विशेष कार्यक्रम प्रभावकारी बनाउने र सञ्चारगृह सवलीकरण जस्ता कुरालाई प्राथमिकता दिदै १ अर्ब १५ करोडको प्रस्तावित बजेट ल्याउदै गर्दा ८ करोड ऋणात्मकतालाई कसरी सफल गर्न सकिन्छ यी सबै कुरामा नगरपालिका लागि परेको नगर प्रमुख शाहीले बताए । सुविधा सम्पन्न सव टर्मिनल, स्वास्थ्य सेवा विस्तारका काम संगै नगर भित्रमा अहिले सम्म २ सय ५० किलो मिटर भन्दा भन्दा धेरै निर्माण भएका सडकहरुलाई स्तरउन्नति गर्ने कार्यमा प्राथमिकता दिदै आएको उनले छलफलमा जानकारी गराए ।

कार्यक्रममा उपप्रमुख लक्ष्मी पाठकले पत्रकारहरुबाट आएका सुझावहरुलाई मनन् गर्दै आगामी नीति तथा कार्यक्रममा समावेश गरिने बताईन् । छलफलमा जिल्लाका पत्रकहारहरुले सेवा प्रवाहलाई चुस्त बनाउदै जनमैत्री कार्यक्रमहरुलाई नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने बताए । उनीहरुले समानुपाति विज्ञापन नीतिलाई नगर सरकारले कार्यान्वय गर्ने दिशामा जोड दिनुपर्ने बताए । हरेक वर्ष राम्रा कार्यक्रम तथा नीतिहरु बनाइने गरे पनि कार्यान्वयन नहुने समस्यालाई नगर सरकारले ध्यान दिन पत्रकारहरुले सुझाव दिए । कार्यक्रममा नगरपालिकाका प्रवक्ता दामोदर घिमिरेले प्रेस नोट वाचन गरेका थिए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पिताम्वर पाण्डे तथा नगर सरकारका सबै शाखाका शाखा प्रमुखहरुले पत्रकारहरुबाट आएका गुनासा बारे जवाफ दिएका थिए ।

 

प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update