Shittalpati
बाढीबाट गुल्मी पुर्तिघाटका तीन घर जोखिममुक्त

पुरन राजकोटी मगर

गुल्मी(पुर्तिघाट), कालीगण्डकी नदिमा जलसतह घट्दै गएपछि गुल्मीको पुर्तिघाट बजारका ३ घर तत्कालका लागि जोखिममुक्त भएका छन् । अविरल वर्षाका कारण कालीगण्डकी नदिको बहाव बढ्दै गएपछि जोखिममा परेका यहाँका घरहरु विहीबारदेखि नदीको बहाव कम हुँदै गएपछि भने अहिले जोखिम हुनबाट जोगिएका हुन् ।

निरन्तर अविरल वर्षका कारण नदीको बहाव बढ्दै गएपछि नदीतटीय क्षेत्रमा रहेको पुर्तिघाट बजारको जीवनोद्वार माध्यमिक विद्यालयको नजिकै रहेका गोपाल पराजुली,रोतेली चालिसे र मनु सार्कीको घर जोखिममा परेका थिए । विहीबारदेखि वर्षा केही मत्थर बन्दै गएपछि नदीको बहावमा पनि कमी हुँदै गएको छ । मंगलबार जोखिममा परेका घर परिवारलाई भने पुर्तिघाट बजारमा रहेका आफ्न्ता कहाँ सुरक्षित स्थानान्तरण सारिएको थियो ।

बाढीका कारण गाउँपालिकाको केन्द्र पुर्तिघाट बजारदेखि वडा कार्यालय जाने सडक भने अवरुद्ध रहेका छन् । नदीले कालीगण्डकी पाउरोटी उद्योगको केही भाग समेत कटान गरेको पुर्तिघाटका वडा अध्यक्ष होम बहादुर थापाले बताए ।

मंगलबार रातीदेखि अवरुद्ध बनेको यहाँको विद्युत सेवा अहिले सञ्चालनमा आएको छ । कालीगण्डकी करिडोर अन्तर्गत पुर्तिघाटमा रहेको ट्रान्सर्फमर नजिकै माथिदेखि ठूलो रुख ढलेर विद्युत पोल क्षतिग्रस्त भएपछि वडा नं ३,४,५,६,७ को विद्युत प्रशारण लाइन अवरुद्ध भएको थियो । निरन्तर प्रयासले विद्युत लाइन प्रशारणमा ल्याइएको वडा अध्यक्ष थापाले बताए । पानी अझ केही दिन आउन सक्ने भएकाले सजक रहन गाउँपालिकाले सबैलाई आग्रह समेत छ । कालीगण्डकी जलविद्युत ए नजिकैको सडक भासिएका कारण गुल्मी बुटवल सडकखण्ड पनि अवरुद्ध रहेको छ । अहिले भने दुईवटा इक्जाभेटर प्रयोग गरि निरन्तर बाटो सञ्चालन गर्ने कार्य भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update