Shittalpati
माथागढी गाउँपालिकामा उच्च सतर्कता अपनाउन गाउँपालिकावासीलाई आग्रह

पाल्पा(माथागढी), जिल्लाको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले अविरल वर्षा भइरहेकाले सम्भावित घटनाबाट सुरक्षित रहन उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । गत बुधबार जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि लगातार वर्षा हुने मौसमी प्रक्षेपण गरेकाले सतर्क रहन अध्यक्ष थापाले गाउँपालिकावासीलाई आग्रह गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत अपिल गर्दै धेरै जिल्लाका अधिकांश स्थानहरुमा बाढी, पहिरोले भौतिक र मानवीय क्षतिको पुर्‍याएको खबर आईरहेकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन् ।

मनसुन अझै केही दिन सक्रिय रहने भएकाले यसबाट भू–क्षय हुने, बाढी–पहिरो जाने, सडक यातायात अवरुद्ध हुनेसक्ने तथा ढल निकास व्यवस्थित नभएको स्थानमा डुबान हुनसक्ने भएकाले गाउँपालिकावासीहरुलाई सतर्क रहन आग्रह गरिएको अध्यक्ष थापाले एनजेडीसँगको कुराकानीमा बताएका छन् । उनले गाउँपालिका भित्रका केही सडकहरू पहिरोका कारण अवरुद्ध रहेको र यहाँका खोलाहरुमा पानीको बाहव बढ्दै गएकाले थप सुरक्षा अपनाउन गाउँपालिकावासीलाई आग्रह गरेका छन् । अध्यक्ष थापाले केही समस्या परेमा जनप्रतिनिधि र कर्मचारीलाई जुनसुकै बेला पनि सम्पर्क गर्न सक्ने बताए । उनले विपत् व्यवस्थापनको कार्यलाई गाउँपालिकाले विशेष ध्यान दिएको जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, असार २, २०७८  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update