Shittalpati
विपद्को सारथी बगनासकाली सरकार : कोरोनाबाट मृत्यु हुनेको परिवारलाई २५ हजार दिने

रामचन्द्र रायमाझी
पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका कोरोना महामारीमा जनताको सारथी बनेको छ । कोरोना महामारीबाट प्रभावित बनेका नागरिकहरुको हरेक समस्यामा गाउँपालिका सारथी बन्दै गएको छ । कोरोनाबाट संक्रमित बनेका नागरिकहरुको रेखदेखमा होस् वा आर्थिक अभावमा उपचार नपाएका विरामीहरुको उद्दारमा गाउँपालिका सहयोगी बन्दै आएको हो ।

पछिल्लो समय गाउँपालिकाले कोरोनाबाट धेरै नागरिकहरुको ज्यान जान थालेपछि मृतकको परिवारलाई राहत समेत उपलब्ध गराउने भएको छ । गाउँपालिकाले कार्यपालिकाको बैंठकबाटै कोरोनाबाट मृत्यु हुने परिवारका लागि २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । उसले कोरोना संक्रमणबाट मृत्यु हुने विपन्न परिवारलाई शवबाहन र काजकिरिया खर्चबापत २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । सम्बन्धित वडाको सिफारिसमा मृत्यु भएकाको परिवारलाई राहत दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए ।
कोरोना महामारीको दोस्रो भेरियन्टपछि यहाँ ९ जनाको मृत्यु भएको छ । महामारीकै कारण मृत्यु भएका परिवारको मनोबल बढाउनुका साथै ‘तपाईंको दुःखमा स्थानीय सरकारसँगै छ’ भन्ने आभाष दिलाउन राहतस्वरुप २५ हजार दिने निर्णय भएको अध्यक्ष बस्यालले एनजेडीसँगको कुराकानीमा बताए । ‘अधिकांश मृतकका परिवार पनि संक्रमित छन्, परिवारका सदस्य गुमाएका उनीहरुलाई एकातिर परिवार नै संक्रमित, अर्कोतर्फ सदस्य गुमाउनुको पिडा छ’,अध्यक्ष बस्यालले भने,‘यस्तो बेला सरकारको उपस्थिति जनाउन हामीले थोरै रकम भए पनि सहयोग गरौँ, उहाँहरुको घरदैलोमा पुगौँ भनेर यस्तो निर्णय गरेका हौं ।’ 

पालिकाले संक्रमणका कारण मृत्यु भएका, मृत्युपछि संक्रमित भएका परिवारमा अन्य खाले स्वास्थ्य समस्या र मनोसामाजिक समस्या नहोस् भनी स्वास्थ्य परामर्शसमेत दिने गरेको छ । उसले अन्य कोरोना संक्रमितहरुको स्वास्थ्य अवस्था बुझ्न र हौसला बढाउन घर–घरमा पुगेर स्वास्थ्य सामग्री र आवश्यक औषधि समेत वितरण गर्दै आएको छ । गाउँपालिकावासीहरु कोरोना संक्रमण भई स्वास्थ्य उपकरणका अभावमा समस्यामा नपरुन भन्ने उद्देश्यले गाउँसरकार कोरोना संक्रमितहरुको घरमै पुगी चेक जाँचसँगै स्वास्थ्य सामग्री वितरण गर्दै आएको हो । कोरोना संक्रमितलाई शक्तिबद्र्धक औषधिहरु, भिटामिन बि, भिटामिन सी, जिङ्ग चक्की, च्वनपरास, सिटामोल, आवश्यकता अनुसार एन्टिबायोटिक औषधीहरु वितरण गरिदै आइएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख मणिराम अधिकारीले बताए । उनका अनुसार ज्वरो नाप्ने डिजिटल थर्मोमिटर, अक्सिजन र पल्स चेक गर्न पल्स अक्सिमिटर, माक्स र सेनिटाइजर लगायतका सामग्रीहरु पनि वितरण गरिदै आइएको छ ।

कोरोना संक्रमित भई घरमै आइसोलेसनमा बसेकाहरुले ज्वरो देखी, अक्सिजन समेत घरमै मापन गर्न सकुन र शक्तिवद्र्धक औषधीहरु खाएर छिटो निको हुन सकुन भनेर घरमै सेवा दिइएको गाउँपालिकाका प्रवक्ता लक्ष्मी अधिकारीले बताए । गाउँपालिकाका स्वास्थ्यकर्मीहरुको टोलीले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुको घरमै पुगी स्वास्थ्य सामग्री वितरणसँगै ज्वरो तथा खोकी लागेका विरामीहरुलाई आवश्यकता अनुसार एन्टिबायोटिक औषधीहरु र स्वास्थ्य परामर्श समेत मेडिकल अफिसर र स्वास्थ्यकर्मीहरुको टोलीले दिएको छ । यहाँ अहिले ५० जना सक्रिय संक्रमित छन् । उनीहरु सबैको घरमा स्वास्थ्यकर्मी पुग्ने गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  १९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update