Shittalpati
माथागढीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग

पाल्पा, जिल्लाको माथागढी गाउँपालिकाकालाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग प्राप्त भएको छ । गाउँपालिकामा कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि अग्रभागमा रहेर काम गर्दै आएका स्वास्थ्यकर्मीहरुका लागि कालीगण्डकी फाउण्डेशन नेपालले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो ।
फाउन्डेसनले स्वास्थ्यकर्मी को सुरक्षा र मनोवल उच्च मनाउन गाउँपालिकालाई ७० वटा पिपिई र ५ सय वटा माक्स प्रदान गरेको छ । फाउन्डेसनका अध्यक्ष निलकण्ठ भण्डारी, सचिव सीता डोटेल, सदस्य जीवन तिवारी लगायतले गाउँपालिका अध्यक्ष सन्तोष थापा र स्वास्थ्य शाखा प्रमुख केशब जिसीलाई उक्त सुरक्षा सामग्री हस्तान्तरण गरेका हुन् । संस्थाका सल्लाहाकार सन्दिप रानाको पहलमा भारतका विभिन्न सामाजिक संघ संस्थाहरुबाट प्राप्त सामग्री गाउँपालिकालाई सहयोग गरिएको फाउण्डेसनले जनाएको छ । सामग्री ग्रहण गर्दै गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले देशैभर स्वास्थ्य सामग्रीहरु अभाव भइरहेको अवस्थामा फाउण्डेशनले प्रदान गरेको सामग्रीले ठूलो राहत मिल्ने बताए । उनले कोरोना महामारीमा सबैको साथ र सहयोग अपरिहार्य रहेको बताए । अध्यक्ष थापाले गाउँपालिकाप्रति फाउण्डेसनले गरेको सहयोग र सद्भाव अत्यन्त प्रशसंनिय रहेको भन्दै फाउण्डेसनका सम्पूर्ण टिमलाई धन्यवाद दिए । गाउँपालिकाले कोरोना नियन्त्रण तथा रोकथामका लागि सुरुवातका दिन देखिनै निकै सक्रियता देखाउदै आएको छ ।
यहाँ संक्रमित भएका व्यक्तिहरुलाई कोभिड अस्पताल नै सञ्चालन गरी उपचार गरिदै आइएको छ । पछिल्लो समय समुदास्तरमै दैनिक रुपमा संक्रमित देखिन थालेपछि गाउँपालिकाले परीक्षणको दायरालाई समेत बढाएको छ । गाउँपालिकाले कोभिडसँग मिल्दो जुल्दो लक्षण देखिएका व्यक्तिहरुको पीसीआर परीक्षण गर्दै आएको छ । स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्यचौकी वा आवश्यकता अनुसार टोल–टोलमै पुगेर स्वाव संकलन गर्ने गरेका छन् । समुदायमा दैनिक संक्रमित फेला पर्न थालेपछि शंकास्पद व्यक्तिहरुको स्वाव संकलन गरिदै आएको गाउँपालिकाका अध्यक्ष थापा बताए । ‘बिरामी भएर स्वास्थ्यचौकी आउने, कोभिडका लक्षणसँग मिल्दाजुल्दा लक्षण देखिका र संक्रमितको सम्पर्कमा रहेका नागरिकहरुको हामी पीसीआर परीक्षण गर्छौं’ अध्यक्ष थापाले भने । उनका अनुसार पहिले कन्ट्याक्ट ट्रेसिङपछिको परीक्षणमा मुस्किलले एक दुई जनाको मात्रै रिपोर्ट पोजेटिभ देखिने गरेकोमा अहिले भने ५० प्रतिशतमा संक्रमण देखिन थालेको छ । महामारी नियन्त्रण गर्न संक्रमितको सम्पर्कमा आएका व्यक्ति पहिचान गरेर परीक्षण गर्ने र संक्रमण भएकालाई अन्यको सम्पर्कबाट छुट्याउने गरी काम गरिरहेको अध्यक्ष थापाले बताए ।
गाउँपालिकामा अहिलेसम्म दुई हजार २ सय ८ जनाको परीक्षण गरिएको छ । जसमा २ हजार १ सय ३० जनाको पीसीआर विधिबाट गरिएको हो भने ७८ जनाको एन्टिजेन प्रविधिबाट परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याड्ढमा उल्लेख गरिएको छ । यहाँ अहिलेसम्म ३ सय ९० जना संक्रमण भएका छन् । जसमा २ सय ४० जना निको भएका छन्,भने १ सय ४१ जना सक्रिय संक्रमित छन् । कोरोनाका कारण अहिलेसम्म ९ जनाको निधन भइसकेको छ ।

 

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update