Shittalpati
गुल्मीमा एम्बुलेन्स चालक माथि कुटपिट

गुल्मी,गुल्मीमा एम्बुलेन्स चालक माथि कुटपिट भएको छ । नेपाल रेडक्रस सोसाइटी गुल्मीका एम्बुलेन्स चालक २८ वर्षीय लालबहादुर खत्री माथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई जिल्लाको रेसुङ्गा नगरपालिका १ धागिथुमका अन्दाजी ३० वर्षीय सागर बोहोराले मंगलबार राति साढे ९ बजे कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेयले जानकारी दिए ।

चालक खत्रीको टाउकोमा गम्भिर चोट लागेकाले जिल्ला अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा रेफर गरिएको छ । कुटपिटमा संलग्न व्यक्तिको पहिचानपछि खोजीकार्य तिव्र पारिएको प्रहरीले जनाएको छ । कोभिड–१९ को महामारीका बेला ज्यान जोखिममा राखेर खटिएका एम्बुलेन्स चालकमाथि कुटपीट हुनु निकै निन्दनीय विषय भएकाले अविलम्ब दोषि उपर कारवाही गरिने संयुक्त एम्बुलेन्स चालक संघ गुल्मीका सचिव युवराज बस्नेतले बताएका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति राजेन्द्र श्रेष्ठले घटनाको घोर भत्सर्ना गर्दै संलग्नलाई तत्काल कारवाहीको माग गरेका छन् । उनले कोरोना महामारीको समयमा दिनरात बिरामी बोकेर दौड्ने एम्बुलेन्स चालकमाथि कुटपिट हुनु निन्दनीय कार्य भएको बताए ।

प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update