Shittalpati
तानसेनमा कालीगण्डकीको पानी वितरण थालियो

कृष्ण पोखरेल
पाल्पा, लामो समयको प्रतिक्षापछि कालिगण्डकीको खानेपानी तानसेनका विभिन्न क्षेत्रमा वितरण गर्न थालिएको छ । तानसेन खानेपानी उपभोक्ता समितिले जेठ ९ गते आईतवार देखी कालिगण्डकीको खानेपानी विभिन्न ठाउँका ट्यांकीहरु भर्दै पानी वितरण गर्ने काम सुरु गरेको हो ।

२ महिना अघि तानसेनमा कालीगण्डकीको पानी लिफ्ट गरी झारिए पनि पानी परीक्षणमै रहेकाले परीक्षणपछि बल्ल पानी वितरण थालिएको उपभोक्ता समितिले जनाएको छ । ल्याव परीक्षण पछी पानी पिउन योग्य रहेको भन्दै समितिले उपभोक्ताको घर–घरमा वितरण गरेको हो । कोरोना सक्रमणको समयमा सरसफाईको क्षेत्रमा बढी पानी खर्चिनु पर्ने समयमा कालीगण्डकीको पानी घर–घरमा आएपछी तानसेनवासी उत्साहित भएका छन् । कालीगण्डकीको पानी, तानसेन वडा नंं १ देखी वडा नंं ८ र वडा नंं ११ देखी १३ सम्म वितरण हुने छ । तानसेन नगरपालिका वडा नंं १३ छर्लुङ्ग र रानीमहलको बिच भागबाट कालीगण्डकीको पानी लिफ्ट गरी तानसेन बतासेडाँडाको मुल ट्याङ्कीमा झारिएको हो । लामो समय देखी खानेपानीको समस्या रहँदै आएको सदरमुकाम तानसेनमा कालीगण्डकीको लिफ्ट पानीले यहाँका उपभोक्ताहरुको तिर्खा मेटाएको छ । कालीगण्डकीबाट ६ वटा पम्प स्टेशनमार्फत पानी पम्पिङ् गरी १ हजार ४४ मिटर उचाईको मुल ट्याङ्की बतासेमा पानी झारिएको छ । दुईबर्ष अघि नै खानेपानीको काम सक्नुपर्ने सम्झौता भएपनि निर्माण व्यवसायीले कोभिड तथा विभिन्न कारण देखाउदै काम पुरा गर्न समय लागेको जनाएको छ । निर्माण व्यवसायी रमन मृत सञ्जीवनी जेभी, काठमाडौँले २५ करोड ३९ लाखमा सम्झौता कालीगण्डकी खानेपानी योजनाको सम्झौता गरेको थियो । काम सम्पन्न भएको एक बर्षसम्म निर्माण व्यवसायीले मर्मत सम्भार देखी खानेपानीको विल समेत भुक्तानी गर्ने छ । लामो समयपछी कालीगण्डकीको पानी पिउन पाउँदा खुसी लागेको तानसेन ४ सिल्खानटोलका उपभोक्ता कृष्ण प्रसाद पाण्डेले बताए । कालीगण्डकीको पानी त पिउन पाउँदा खुसी त भएका छौ तर यो खुसी कति दिन टिक्ने हो ? थाहा छैन । हप्ता दिनमा आउने धारा दिन दिनै आओस्, तानसेनका जनताहरुमा कहिल्यै खानेपानीको असुविधा नहोस् भनी सम्पूर्ण तानसेनवासीको यही अनुरोध रहेको उपभोक्ता पाण्डेले बताए ।
कालीगण्डकी लिफ्ट प्रणालीबाट तानसेनको मुख्य ट्याङ्कीमा प्रतिसेकेण्ड ३६ लिटर पानी लिफ्ट गर्ने क्षमता रहेकोमा हाल ४५ मिनेटमा १ लाख लिटर पानी बतासेको मुख्य रिजर्भ ट्याङ्कीमा झरेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय अर्घाखाँचीका प्राविधिक केशव खत्रीले बताए ।

पहिलो चरणमा बनेको इनारबाट २० वर्षपछि पनि प्रतिसेकेण्ड ३६ लिटर पानी आउने र आयोजनालाई दीर्घकालीन बनाउन ६ करोड ७ लाख रुपैयाँमा दोस्रो चरणमा थप एउटा इनार र पानी प्रशोधन केन्द्र निर्माणको काम भईरहेको तानसेन खानेपानी उपभोक्ता समितिका सचिव केशव पौडेलले बताए । ल्यावमा कालीगण्डकी ईनारको पानी परीक्षण गर्दा पिउन योग्य भएको प्रमाणित भएपछि हामीले अहिले पानी लिफ्ट गरी सुख्खा मौसममा पानीको कमी नहोस् भनी तानसेनका केही स्थानमा वितरण शुरु गरेका छौ, केही दिनसम्म पानीको लिफ्टको अवस्था अवलोकन गरी पूर्ण रुपमा पानी वितरणको व्यबस्था मिलाउने कोषाध्यक्ष भिमसेन कार्कीले बताए । कालीगण्डकी लिफ्ट प्रणालीको लागि ५ वटा स्टेशनमा दुई /दुई जना अपरेटर नियुक्ती गरी केहीलाई काममा खटाएको केही आउने क्रममा रहेको समितिले जनाएको छ ।

कालीगण्डकी लिफ्ट खानेपानीको लागि छुट्टै टि. ओ. डी. मिटर राख्नु पर्ने नियम रहे पनि, पाल्पा विद्युत प्राधिकरणले समयमा टि.ओ.डि. मिटर नजोड्दा अहिले तानसेन खानेपानी समितिको नामबाट विद्युत खर्च भईरहेकाले, समितिको मासिक १० देखी १५ लाख रुपैयाँ अनावश्यक खर्च हुने समितिका कोषाध्यक्ष कार्कीले बताए ।
तानसेनको ५० हजार जनसंख्यालाई दैनिक ३५ लाख लिटर खानेपानीको आवश्यकता परिपूर्ति हुने भएकाले सुख्खा क्षेत्र घोषणा गरी कालीगण्डकीबाट लिफ्टिङ् योजना अघि बढाइएको थियो । कालीगण्डकीको लिफ्ट पानी होटल, उद्योग कलकारखानालाई आवश्यकता अनुसारको धारा वितरण गरिने समितिले जनाएको छ । होटलको क्षमता, कामदारको अवस्था, सरकारलाई राजश्व तिरेको आधारमा उद्योग कलकारखाना तथा होटलहरुलाई पानीको सुविधा प्रदान गर्ने समितिले निती बनाएको कोषाध्यक्ष भिमसेन कार्कीले बताए । पछिल्लो समयमा सदरमुकाम तानसेनमा पानीको समस्या र घट्दो व्यापारिक चहलपहलको कारण तानसेनबाट बुटवल भैरहवा, नारायणगढ, काठमाडौ जस्ता स्थानमा बसाई सराईको क्रम बढेको छ । कालिगण्डीको पानीले अब यो समस्या समधान गर्नेमा समितिले विश्वास लिएको छ ।

२०३५ साल अघि ढुङ्गे धाराबाट तानसेनवासीले पानीको आवश्यकता पुरा गरेका थिए । बस्ती तथा जनसंख्या बढ्दै गएपछी पहिलो पटक भुल्के खानेपानी योजना २०३५ सालमा जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा तानसेनमा पानी लिफ्ट गरी वितरण गरिएको थियो । बढ्दो शहरीकरण, जनसंख्याको कारण भुल्केको पानी पर्याप्त नभएपछी पाल्पा उद्योग वाणिज्य संघको पहलमा महायज्ञ गरी रकम संकलनबाट सिस्ने लिफ्ट खानेपानी योजना सञ्चालन गरिएको थियो । तानसेनमा सिस्ने, तीनधारा, होलाङ्दी बाझा र भुल्केबाट पानी लिफ्ट गरिएपनि गर्मीयाममा एक हप्तामा एक पटक र बर्षात्को समयमा ३ दिनमा १ घण्टा पानी वितरण हुँदै आएको छ । पर्याप्त पानी नहुँदा उपभोक्ता देखी होटल, रेष्टुरा तथा घर निर्माण कर्ताहरु टंयाक्रको पानीमै निर्भर रहनु पर्ने बाध्यता हट्ने भएको छ । ट्याङ्करको पानी उपभोक्ताले ५ हजार लिटरलाई २ हजार ५ सय रुपैयाँमा खरिद गर्दै आएका छन् । तानसेनमा दैनिक १ सय ट्याक्टर पानी खपत हुँदै आएको छ ।
तानसेन खानेपानी उपभोक्ता समितिले हाल सम्म ३ हजार ५ सय निजीधारा वितरण गरेको छ भने नयाँ धाराको लागि करीव १ हजार ५ सय उपभोक्ताले निवेदन दिएको समितिका कार्यालय प्रमुख दिवाकर अर्यालले बताए । तानसेनको खानेपानी लिफ्टमा आधारित भएकाले विद्युत अवरुद्ध हुँदा, पानी तान्ने मोटर विग्रिदा पानीको हाहाकार मच्चिने गरेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update