Shittalpati
श्रमजीवी वर्गका लागि राहत प्याकेज ल्याउन प्रेस युनियन पाल्पाको माग

पाल्पा, नेपाल प्रेस युनियन पाल्पाले कोरोना पीडित श्रमजीवी,मजदुर तथा रोजगार गुमाएकाहरूलाई राहत प्याकेज ल्याउन सरकारसँग माग गरेको छ । युनियनले सोमबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञाका कारण रोजगार गुमाएका आम नागरिक, श्रमिक र साना व्यवसायीहरूले भोग्नु परेको पीडालाई मध्यनजर गर्दै आवश्यक राहतको प्याकेज यथाशीघ्र ल्याउन माग गरेको हो ।

पाल्पामा वैशाख १७ गतेदेखि जारी निषेधाज्ञाले जनजीवन कष्टकर बन्न सक्ने भन्दै युनियले त्यस तर्फ समयमै ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ । निषेधाज्ञाका कारण शैक्षिक, व्यावसायिक, उद्योगधन्दा, कलकारखाना बन्दको अवस्थामा रहेकाले संगठित तथा असंगठित मजदुर बढी मारमा परेको युनियनले जनाएको छ । दैनिक ज्याला मजदुरी गरी खानेहरुका लागि रोजीरोटीको समस्या ठूलो बनेर देखापरिसकेको भन्दै यस्तो विषम परिस्थीतमा स्थानीय, प्रदेश र संघीय सरकारलाई राहत प्याकेजका कार्यक्रम ल्याउन प्रेस युनियनले माग गरेको हो । कोरोना महामारीको संकटका बेला एकतावद्ध भएर लड्न सबै तह र तप्कालाई पनि युनियनले अनुरोध गरेको छ ।

पाल्पामा स्वास्थ्य बीमाका विरामीहरुले सेवा नपाएको व्यापक गुनासो प्रति युनियनले आफ्नो ध्यानाकषर्ण भएको जनाएको छ । सरकारले सबै नागरिकको पहुँचमा स्वास्थ्य उपचार पु¥याउने उद्देश्यले कार्यान्वयनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम युनाईटेड मिसन अस्पताल लगायतका ठूला अस्पतालहरुले अहिले कार्यान्वयन नगरेको भन्दै युनियनले आपत्ति जनाएको छ । महामारीको विषम परिस्थतीमा आम नागरिकको स्वास्थ्यप्रति संवेदनशिल हुनुपर्ने अस्पतालहरुले नागरिकलाई स्वास्थ्य अधिकारबाट बञ्चित गराउन खोज्नु दुःखद् भएको युनियनका सभापति भरत शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । नागरिकहरुको स्वास्थ्य उपचार सहज बनाईदिन युनियनले सम्बन्धित निकायलाई आग्रह गरेको छ । सरकारसहित सम्बन्धित निकायको प्राथमिकता अहिले नागरिकको स्वास्थ्य सुरक्षा बन्नुपर्ने युनियनका सभापति शर्माले बताए । उनले संविधानको मौलिकहकको दफामा रहेको ‘स्वास्थ्यको हक र समानताको हक’ यो संवेदनशील घडीमा प्रभावकारी कार्यान्वयन गर्नू राज्यका सबै संयन्त्रको दायित्व भएकाले यसतर्फ ध्यान दिन आग्रह गरे ।

पाल्पामा केही संक्रमित व्यक्तिहरु बाहिर खुलेआम हिडेको जनगुनासोप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । महामारीबाट बच्न सरकारले नै अनावश्यक घरबाहिर ननिस्कन भनिरहेका बेला संक्रमित नै खुलेआम रुपका बाहिर हिड्नु गलत रहेको युनियनको ठहर छ । यस विषयमा सम्बन्धित निकायले तत्काल अनुगमन तथा नियमन गर्नुपर्ने युनियनले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update