Shittalpati
ओली अल्पमतमा : राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गर्ने

हाम्रा संवाददाता
काठमाडौं, सोमबारको प्रतिनिधीसभाबाट प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा परेपछि पदमुक्त भएका छन् । संसदबाट विश्वास गुमाएका प्रधानमन्त्री ओली राष्ट्रपति भवन तर्फ गएको श्रोतको दावा छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेको पनि श्रोतले बतायो । प्रतिनिधीसभामा सोमबार प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दा पक्षमा जम्मा ९३ मत मात्र प्राप्त भएपछि उनी पदमुक्त भएका हुन । यसबारेमा संसद सचिवालयको आधिकारिक पत्र पाएपछि राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि आह्वान गर्ने तयारी शुरु भएको छ । संसद सचिवालयले आजको मत परिणाम सहितको जानकारी पत्र राष्ट्रपति कार्यालयमा पठाउँछ, त्यसपछि नयाँ सरकार गठन प्रक्रिया सुरु हुन्छ, राष्ट्रपति कार्यालयको श्रोतले बतायो ।

आफूमाथि प्रतिनिधीसभाको विश्वास छ भनि प्रधानमन्त्रीले राखेको प्रस्तावको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १२४ मत खसेको छ । सोमबारको बैठकमा उपस्थित २३२ सांसदमध्ये १५ जना तटस्थ बसे । प्रस्तावको पक्षमा आएको ९३ मत प्रतिनिधीसभामा कायम रहेको सदस्य संख्याको बहुमत कायम नभएकाले अस्वीकृत भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा घोषणा गरेका हुन । संसदको सबैभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । तर प्रधानमन्त्री ओलीले आफैं दलको सबै मत पाउन सकेनन् । एमालेमा समानान्तर संरचना बनाएको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा अनुपस्थित भएका थिए ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र, यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिए । जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का एक सांसद तटस्थ बसे ।

प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update