Shittalpati
गुल्मीको कालीगण्डकी गाउँपालिकामा निषेधाज्ञाको अवज्ञा

पुरन राजकोटी मगर
गुल्मी(पुर्तिघाट),जिल्लाको कालीगण्डकी गाउँपालिकामा निषेधाज्ञाको अवज्ञा गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण उच्च भएपछि वैशाख १८ गते राति १२ बजेदेखि वैशाख २५ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरे पनि यहाँ त्यसको अवज्ञा गरेको पाइएको हो । कालिगण्डकी गाउँपालिका भित्रका मुख्य बजार पुर्तिघाटमा अत्यावश्यक बाहेकका पसलहरु बन्द गर्न भनिए पनि पूर्ण रुपमा बन्द गरिएको छैन । स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयको निर्देशनलाई उलङ्घन गर्दै निर्वाध रुपमा यहाँका केही पसलहरु खुलिरहेका छन् । सुरक्षाकर्मीहरुको आँखा छलेर यहाँका व्यापारीहरुले पसल खोलेर व्यापार गर्दै आएका छन् । निषेधाज्ञाको दोस्रो दिन सोमबार यहाँका स्थानीयले कोरोना संक्रमणलाई गम्भीर रुपमा नलिई अवज्ञा गर्दै सडकमा आउ जाउ समेत गरेका छन् । बिना कामले सर्वसाधारण सडकमा निस्किएका छन् । प्रहरीले बिनाकाम सडकमा निस्किएका लाई रोकेर फकाई दिने गरे पनि उनीहरुले अटेर गरेका छन् ।
यहाँका सडकमा छिट्टाफुट्ट रुपमा सवारी साधनहरु समेत गुडेका छन् । अत्यवाश्यक बाहेकका सवारी सञ्चालन गर्न दिए पनि यहाँ अन्य सवारी साधनहरु चल्ने गरेको पाइन्छ । कोरोनाको दोसो लहर आएसँगै तीव्र गतिमा फैलिएको यो भाइरस जुनसुकै अवस्था पनि गाउँसमाजमा फैलन सक्ने भन्दै कालिगण्डकी गाउँपालिकाको यस अघि आकस्मिक बैंठक नै बसी गाउँपालिका भित्र सञ्चालित सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्देशन दिएको थियो । उक्त निर्देशन पालना गर्दै शैक्षिक संस्थाहरु बन्द रहेता पनि मुख्य बजार पूर्णतः बन्द हुन सकेका छैन । स्थानीय प्रतिनिधि र पुर्तिघाट प्रहरी बल सहितको टिमले एका तर्फबाट पसल बन्द गर्दै जाने अर्को तर्फ पुग्दा पछाडी बन्द गराइएका पसलहरु खुल्दै जाने गरेको समेत पाइएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update