Shittalpati
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा

बुटवल , लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष राजनीमा बुझाएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले विज्ञप्ति मार्फत् जानकारी दिएका छन् ।


‘माननीय प्रदेश प्रमुख श्री धर्मनाथ यादवज्यू समक्ष लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री शंकर पाखेरेलले नेपालको संविधानको धारा १६९ (१) (क) अनुसार मुख्यमन्त्री पदबाट दिनुभएको राजनीमा आज मिति २०७८ साल वैशाख १९ गतेका दिन माननीय प्रदशे प्रमुखज्यूले स्वीकृत गर्नुभएको छ’, विज्ञप्तिमा भनिएको छ ।

यससँगै अर्को व्यवस्था नभएसम्मका लागि पोखरेलकै नेतृत्वको सरकारले कामचलाउ कार्यभार सम्हाल्ने विज्ञप्तिमा उल्लेख छ । वैशाख ६ गते मुख्यमन्त्री पोखरेलविरुद्ध कांग्रेस–माओवादीसहितका दलले अविश्वस प्रस्ताव ल्याएका थिए । सो प्रस्ताव र विपक्षीको निवेदनका आधारमा आज विशेष अधिवेशन बस्नुअघि नै मुख्यमन्त्रीले राजीनामा दिएका हुन् ।मुख्यमन्त्री पोखरेलको यसअघिको सरकार संविधानको धारा १६८(२) अनुसारको संयुक्त सरकार थियो । यसको अर्थ पछिल्लो समय प्रदेश सभामा देखिएको अंकगणितलाई आधार मानेर मुख्यमन्त्री पोखरेलले आफ्नो नेतृत्वमा एकल सरकार बनाउन आइतबार राजीनामा दिएको देखिन्छ । लुम्बिनी प्रदेश सभामा यसअघि ८७ जना सांसद थिए । पछिल्लो समय जसपाका चार र माओवादी केन्द्रका दुई जना सांसद निलम्बित भएपछि अहिले प्रदेश सभा ८१ सदस्यीय छ । सत्तारूढ एमालेसँग ४१ सांसद छन् । संविधाननको धारा १६८(१) अनुसार बहुमतको सरकार बनाउन पुग्ने ४१ सांसद आफ्नो दलका भएपछि पोखरेलले अविश्वासको प्रस्ताव पेश हुने दिन नै राजीनामा दिएका हुन् ।

 

 

 

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update