Shittalpati
तानसेनवासीलाई कोरोनाको भन्दा पानीको चिन्ता

रामचन्द्र रायमाझी
पाल्पा, तानसेन नगरपालिका ३ भगवतीटोलकी नर्मता सारुले पानी भर्नकै लागि दैनिक तीन÷चार घण्टा खर्चिनु परेको छ । धारामा १४ दिनदेखि खानेपानी नआएपछि उनले निषेधाज्ञा (लकडाउन) पालना गर्न सकेकी छैनन् । ‘अहिले कोरानाको डरभन्दा खानेपानीको पिरलो छ,’ सारुले भनिन्, ‘बिहानदेखि रातिसम्मै पानीको चिन्ता हुन्छ ।’ उनका अनुसार घण्टौं लगाएर नजिकैको सार्वजनिक धारामा खानेपानीको जोहो गर्नुपर्ने बाध्यता छ । खानेपानी समस्याका कारण कोरोनाको कुनै पनि प्रवाह नगरी महिला र बालबालिकाले लामो समयदेखि सास्ती भोग्दै आएको सारुले सुनाइन् ।


लामो समयदेखि आफुले पनि खानेपानी समस्या भोग्दै आएको उपभोक्ता अनु खनालले बताईन् । ‘पानीको चिन्ताले कोरोनाको डर लाग्नै छाड्यो,’ उनले भनिन्, ‘लकडाउनको समयमा पानी ल्याउन र मुहानमा कुरुवा बस्नै ठिक्क छ ।’ उनका अनुसार बिहान झिसमिसेमै नारायणस्थानको सार्वजनिक धारामा नगए दुई÷तीन घण्टा पालो कुर्नुपर्ने बाध्यता छ । तानसेनको बारुदखानमा कोठा भाँडामा लिएर बस्दै आएकी कृष्णकला पाण्डेको गुनासो पनि उस्तै छ । ‘यहाँ कोरोनाको चिन्तासँगै खानेपानीको चिन्ताले बढी सताउन थालेको छ, साबुनपानीले हात पटक–पटक धुनलाई सरकारले अनुरोध गरेको छ, तर हामीलाई पिउने पानी नै छैन,’ पाण्डेले भनिन् । उनीहरु जस्तै तानसेनमा कोठामा भाँडामा बस्दै आएका अरु पनि कोरोनाको चिन्ता नगरी खानेपानी समस्याले पिरोलिएका छन् । खानेपानी नियमित हुन नसक्दा तानसेनमा कोठाभाँडामा बस्ने विद्यार्थी, गृहणी, घरधनी, होटल व्यवसायीहरु बढी मर्कामा परेका छन् ।

दैनिक १० लाख लिटर बढी पानी खपत हुने तानसेनमा दुईसातादेखि पानी नआउँदा उपभोक्ताहरु चिन्तित भएका छन् । पानी अभाव भएपछि सार्वजनिक धारामा कतिखेर पानी आउँछ भनेर स्थानीयको भीड लाग्ने गरेको छ । उनीहरूले पानीको समस्याका कारण भीडभाडमा जान्नभन्दा पनि नगई सुख नभएको बताउँछन् । एकातिर कोरोना महामारीको चिन्ता अर्कोतिर खानेपानीको चिन्ता तानसेनवासीले खेप्नु परेको छ । तानसेनमा कोरोनाको संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले शुक्रबार रातीदेखि निषेधाज्ञा जारी गरे पनि यहाँका स्थानीयहरुले खानेपानी अभावका कारण पूर्ण रुपमा पालना गर्न सकिरहेका छैन् ।
धारामा दुई हप्तादेखि पानी नआएपछि यहाँका स्थानीयहरु तानसेनका सार्वजनिक धाराहरुमा पानी लिनका लागि भीड लाग्ने गरेका छन् । तानसेनको नारायणस्थान, होलादी, तीनधारा लगायतका सार्वजनिक धाराहरुमा बिहानैदेखि पानी भर्नेहरुको ठूलो भीडभाड लाग्ने गर्दछ । त्यहाँ रहेको सार्वजनिक धारामा पानी थाप्न जम्मा हुने भीडले निषेधाज्ञा (लकडाउन) पालन गर्न सकेको छैन । लामोसमयदेखि पानी टोलमा नआएका कारण यहाँका स्थानीयले लकडाउनबीच पनि भीडभाडका साथ पानी भर्न बाध्य भएका हुन् । तानसेनको धारामा पानी नआएको १५ दिन हुन लाग्दा समेत स्थानीय सरकार र उपभोक्ता समितिको ध्यान नगएको स्थानीय उपभोक्ताहरुको गुनासो छ ।

वैशाख लागेसँगै तानसेनमा खानेपानीको अभाव बढेर गएको छ । खानेपानी उपभोक्ता समितिको वेवास्ताका कारण यहाँका उपभोक्ताहरुले खानेपानीको चरम अभाव भोग्दै आएका छन् । असमान वितरण प्रणाली, समयमा मोटरहरुको मर्मत संभार नहुनु, सुख्खा मौसमसँगै नजिकका मुलहरु सुक्दै जाने समस्याका कारण तानसेनमा पानीको आभाव भएको हो । केही हप्ता अघि तानसेनमा कालीगण्डकीको खानेपानी झरिसकेको बताइए पनि अहिले सम्म उपभोक्ताको घरसम्म पुगेको छैन । खानेपानी उपभोक्ता समितिले पानी वितरणलाई प्रभावकारी बनाउन नसक्दा तानसेनमा खानेपानीको अभाव चुलिदै गएको हो । खानेपानी वितरण प्रणाली अव्यवहारिक, केही कर्मचारीको बदमासी लगायतका समस्याले गर्दा समेत तानसेनवासीहरुले खानेपानी नियमित पाउन सकेका छैनन् । यस विषयमा खानेपानी उपभोक्ता समितिका कार्यवाहक अध्यक्ष डा. पुरनमान बज्राचार्यसँग यो समाचार तयारपार्दासम्म पटक –पटक सम्पर्क गर्न खोज्दा फोन उठेन । 

प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update