Shittalpati
पाल्पामा आज राती १२ बजेदेखि निषेधाज्ञा लागू हुँदै


पाल्पा, जिल्लामा आज राती १२ बजेदेखि अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधको आदेश (निषेधाज्ञा) लागू हुँदै छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बुधबार बसेको बैठकले वैशाख १७ गते राति १२ बजेदेखि वैशाख २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले उक्त आदेश जारी गरेका थिए । आदेश लागू भएसँगै जिल्लामा अत्यावश्यक कामबाहेकका गतिविधि सञ्चालनमा रोक लगाइने छ । आदेशानुसार सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, संग्राहालय आदि सञ्चालन गर्न पाइने छैन । यस समयावधिभर एम्वुलेन्स, दमकल, शववाहन, अत्यावश्यक खाद्य सामग्री तथा पशुका दाना, दूध, फलफूल, तरकारी, माछा, मासू, पानी, ग्यास, पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोकेका सवारी साधनहरु, औद्योगिक कच्चा पदार्थ बोकेका सवारी साधनहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ड्युटी जान आउन प्रयोग गर्ने सवारी साधनहरु, औषधि तथा स्वास्थ्य सामग्री बोकेका सवारीहरु, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधनहरु, प्रेस पास तथा परिचय पत्र वाहक पत्रकार तथा सञ्चारकर्मीहरुले प्रयोग गरेका सवारी साधनहरु सञ्चालन हुने छन् । यी बाहेक जिल्लाभर सञ्चालन हुने यात्रुवाहक, सार्वजनिक तथा निजी सवारी साधनहरुको सञ्चालनमा भने रोक लगाइएको छ ।

पाल्पा जिल्ला भएर अन्य जिल्ला जाने सवारी साधनहरु भने पाल्पा जिल्लामा यात्रु ओराल्न र चढाउन नपाउने गरी सञ्चालन गर्न पाउने छन् । त्यस्तै गरी आवश्यक बाहेकका पसल व्यवसाय बन्द गरिने भएको छ । होटल र रेष्टुरेण्टले भने बिहान ६ बजेदेखि १० बजेसम्म टेकअवे सेवा सञ्चालन हुने छन् । विवाह व्रतबन्ध वा अन्य संस्कारजन्य कार्यक्रमहरु घरमै सञ्चालन गर्नुपर्ने छ, तर यसका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा अपनाई २५ जना भन्दा बढी सहभागी हुन भने पाइने छैन । सरकारले संक्रामक रोग नियन्त्रण ऐन, २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय संक्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको छ । सोही अधिकार प्रयोग गरी पाल्पामा आज राती १२ बजेदेखि लागू गरिएको आदेश यही २४ गते राति १२ बजेसम्म जारी रहने छ । यस्तै अन्य दर्जन बढी जिल्लामा पनि यसैगरी आदेश जारी भएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update