Shittalpati
आवधिक र दीर्घकालीन योजना निर्माण गर्दै माथागढी सरकार

कृष्ण पोखरेल
पाल्पा, माथागढी गाउँपालिकालाई समृद्ध माथागढी बनाउने महत्वकाक्षीं योजनाका साथ पालिकाले पञ्चवर्षिय आवधिक योजनासंगै दीर्घकालीन गुरुयोजना निर्माण शुरु गरेको छ । शिक्षा, रोजगारी, स्वास्थ्य उपचार, कृषि उत्पादन, पशुपालन, भूमि व्यवस्थापन, भौतिक पूर्वाधार, वातावरण मैत्री गाउँघर, पर्यटन, सडक, खानेपानी विद्युत तथा सञ्चार लगायतका मुल विषयवस्तुलाई केन्द्रविन्दु बनाएर आवधिक तथा दीर्घकालीन योजना निर्माणमा गाउँ सरकार सक्रिय भएर लागेको हो । गाउँ सरकारले सबै वडाका घर–घरमा खानेपानीको धारा, वडा–वडामा रोजगार कार्यक्रम, सबै घरमा विद्युतिकरण, वडा–वडामा पक्की सडक, टोल–टोलमा होमस्टे, डाडाँकाडाँमा पर्यटकीय पुर्वाधार, आत्मनिर्भरमुखी उत्पादन, निर्यातमुखी कृषि तथा पशुपालन जस्ता विषवस्तु समेटेर योजना निर्माण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापा मगरले बताए । ७० प्रतिशत भन्दा बढी मगरहरुको जनसंख्या रहेको माथागढी गाउँपालिका भित्र मगरी कला संस्कृतिको संरक्षण, भेषभुषा, रहन सहन, जर्गेना, परम्परागत सीपकला हस्तानतरण, मौलिक परम्पराहरुको जर्गेनाहरुलाई ध्यानमा राखेर आवधिक तथा गुरुयोजना निर्माण थालिएको हो । आजको माथागढीको यर्थात अवस्थालाई मध्यनजर गर्दै अवको २० बर्षमा माथागढी गाउँपालिकाको परिकल्पना गर्दै गाउँपालिकाबाट नमुना नगर बनाउने अभियानका साथ गुरुयोजना निर्माणमा जुटेको पालिकाका उपाध्यक्ष निर्मला भट्टराईले बताईन् ।


लक्ष्य उद्देश्य सहितको योजना बनाएर काम गर्दा निर्धारित गन्तव्यमा पुग्न सकिने, व्यस्थित स्वरुपबाट विकास निर्माणका कामहरु गर्न सकिने, कम बजेटमा पनि विकास निर्माणका कामलाई क्रमागत रुपमा अगाडि बढाउन सकिने, नपुग आर्थिक स्रोतको व्यवस्थापन प्रदेश तथा संघीय सरकारबाट गर्न सकिने, पुर्व योजनाको आधारमा विभिन्न दातृ निकायबाट सहयोग लिई काम गर्न सकिने भएकाले सिङ्गो गाउँपालिकाको पदाधिकारी, कार्यपालिका, जनप्रतिनिधी तथा प्रमुख प्रशासकिय अधिकृतसँगै विभागिय कर्मचारीहरु योजना निर्माणमा जुटेका छन् । हालै निर्माण हुने आवधिक तथा दीर्घकालीन योजनामा आधारित भएर नवनिर्वाचित जनप्रतिनिधीहरुलाई समेत विकास निर्माणका कामहरु गर्न सहज होस्, योजना निर्माणमा समय खर्चिन नपरोस् भनी यो अभियानमा पालिकाको सम्पूर्ण जनशक्ति खटिएको अध्यक्ष थापाले बताए । म आफै माथागढी गाउँपालिकाको स्थायी बासिन्दा हुँ, म यही माटोमा हुर्केको व्यक्ति पनि, अहिले पालिकाको प्रमुख जिम्मेवारी पदमा बसेर सेवा गर्ने मौका पाएको छु, माथागढीको सबै क्षेत्रको विकासको व्यस्थित योजना चाहिने भएकाले अहिले आवधिक र दीर्घकालिन योजना बनाउन सिङ्गो कर्मचारी टिम निर्वाचित जनप्रतिनिधी हरुलाई सहयोग गरिरहेको प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले बताए । योजना निर्माणको लागि विषय विशेषज्ञ, शाखा प्रमुख अहिलेको वस्तु स्थिती, रणनितिक योजना सहितका कार्ययोजना, खाका प्रस्तुत खटाएको प्रमुख प्रशासकिय अधिकृत नेपालले बताए । सराई, रुप्से, झडेवा जस्ता खेतीयोग्यफाँट सँगै तराईका रुपन्देही नवलपरासीसँग जोडिएको पालिकामा प्रशस्त संभावना रहेकाले सबै वडालाई समान रुपमा विकास गर्नको लागि पनि आवधिक तथा दीर्घकालिन योजना आवश्यक रहेको गाउँपालिकाका प्रवक्ता तथा ४ का वडा अध्यक्ष मधु पराजुलीले बताए । आवधिक तथा दीर्घकालीन योजना बनाउन पालिकाको ८ वटै वडाका जनप्रतिनिधीहरु, राजनितिक दलका नेता तथा कार्यकर्ता, वडा सचिव, विद्यालयका प्रधानाध्यापकहरु, स्वास्थ्य चौकीका प्रमुखहरु, बुढापाका तथा पुराना अनुभवी व्यक्तिहरु, ड्रिम्स ईन्टरनेशल ईन्जिनियरिङ्ग एण्ड कन्सलटेन्टी, एरिना ईन्टरनेशल ईन्जिनियरिङ्ग एण्ड कन्सलटेन्टीका सहजकर्ताहरु गाउँ–गाउँमा खटिएका छन् ।

दुबै योजना निर्माणको लागि राष्ट्रिय योजना आयोगका स्थानीयतहका विज्ञ डा. बुद्धिमान श्रेष्ठ प्रत्यक्ष रुपमा खटिएका छन् । विज्ञ डा. श्रेष्ठ आफै सहभागी भएर योजना निर्माणमा सहजीकरण गर्दै आएका छन् । पालिकाले आउँदो जेठ मसान्त भित्र आवधिक तथा दीर्घकालीन योजनालाई अन्तिम रुपम दिने जनाएको छ । आवधिक तथा दीर्घकालीन योजना निर्माणका लागि आयोजना गरिएको कार्यशाला गोष्ठीमा जिल्ला समन्वय समिती पाल्पाकी कार्यवाहक प्रमुख मिरा मरासिनीले आज देखेको सपनालाई यर्थाथमा परिणत गरी भावि सन्ततीहरुलाई मातुभुमी र जन्मभुमी प्रति गौरव बोध बनाउने गरी खाँका निर्माण गर्नु नै आवधिक तथा दीर्घकालिन योजना भएको बताईन् । माथागढी गाउँपालिकाले थालेको आवधिक तथा दीर्घकालीन योजनाले विकास निर्माणको गती सही बाटोमा हिडाउने, सबै किसिमका विकास निर्माणका कामहरु सन्तुलितरुपमा लैजाने जिल्ला समन्वयकी कार्यवाहक प्रमुख मरासिनीले बताईन् । योजना निर्माणको औपचारीक कार्यक्रमको सञ्चालन अधिकृत नारायण न्यौपानेले गरेका थिए ।

प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update