Shittalpati
मानव अधिकार रक्षकहरूको संरक्षण राज्यले गर्नुपर्ने

पाल्पा, मानव अधिकार रक्षकहरुको संरक्षण राज्यले गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । तानसेनमा भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तक्र्रिया कार्यक्रमका सहभागीहरुले नागरिक अधिकारका पक्षमा अग्रपंक्तिमा रहने मानव अधिकार रक्षकहरूको संरक्षण राज्यले गर्नुपर्नेमा जोड दिएका हुन् । नागरिक अधिकारका लागि पैरवी गर्ने अधिकारकर्मीहरूको सुरक्षा र संरक्षणका लागि राज्यका निकाय गम्भीर भएर लाग्नुपर्ने उनीहरुको धारणा थियो । कार्यक्रममा वरिष्ठ पत्रकार मेघराज शर्मा, बार एसोसिएसनका पूर्व अध्यक्ष जोगबहादुर बिश्वकर्मा, गैरसरकारी संस्था महासंघका अध्यक्ष भेषराज तिमिल्सिना, अधिवक्ता गीता शर्मा, पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मुक्ति न्यौपाने, पाल्पा विकास केन्द्रका किरण कौशल लगायतले जिल्लामा मानवअधिकारकर्मीहरुको रोष्टर तयार गरि सोही बमोजिम विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्ने मानवअधिकारकर्मीहरुको सुरक्षा र संरक्षणमा राज्यले ध्यान दिनुपर्ने लगायतका विषयमा आ–आफ्नो धारणा राखेका थिए । पत्रकारहरु कान्तिपुर दैनिकका माधव अर्याल, अन्नपुर्ण पोष्टका कृष्ण पोखरेल, थाहा खबरका मिलन बिश्वकर्मा, नेपाल मानवअधिकार संगठन पाल्पाका सभापति बम्किमचन्द्र खनाल, महिला मानवअधिकार रक्षक सञ्जालका उपाध्यक्ष मन गहिरे, परेवा पत्रिकाका भोजराज भट्टराई लगायतले मानव अधिकारकर्मी र पत्रकारहरुको सुरक्षा संरक्षण महत्वपूर्ण विषय रहेको बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जिल्लाका मानवअधिकारका सवालमा आफुले गर्नु पर्ने सहयोगका लागि प्रतिवद्ध रहेको बताए ।

उनले हालै गृहमन्त्रालयले जारी गरेको मानव अधिकार रक्षकहरूको सुरक्षा सम्बन्धी आदेशले धेरै कुरा बोलेको भन्दै यसको पालना गर्ने कुरामा स्थानीय प्रशासन प्रतिवद्ध रहेको बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोषकुमार भट्टराईले नेपाल प्रहरी मानवअधिकारकर्मीको सुरक्षा र मानवअधिकार रक्षाका लागि सदैव प्रतिवद्ध रहेको बताए । उनले मानवअधिकारकर्मीहरु र प्रहरीसँगै भएर मानवअधिकार रक्षाका लागि लागिपर्नुपर्नेमा जोड दिए । सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख लक्ष्मण प्रसाद ज्ञवालीले डिभिजनमार्फत मानवअधिकार र विभिन्न सामाजिक विषयमा रचनात्मक कार्यक्रम हुँदै आएको बताए । कार्यक्रममा मानवअधिकार रक्षक सञ्जाल पाल्पाका संयोजक भगवान भण्डारीले जिल्लामा सञ्जालमार्फत हुँदै आएका रचनात्मक कार्यक्रम र प्रभावहरुबारे जानकारी गराएका थिए । उनले मानवअधिकार संरक्षण र सम्वद्र्धनमा सञ्जालले जिल्लामा अग्रणी भुमिका गर्र्दै आएको समेत बताए । इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए ।

 

प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update