Shittalpati
‘विद्यार्थी शक्तिसँग जोस मात्र होइन, होस पनि हुन्छ’

गुल्मी, नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले विद्यार्थी शक्तिसँग जोस मात्र नभई होस पनि हुने बताएका छन् । नेपाल विद्यार्थी संघ क्षेत्र नं २ गुल्मीले आयोजना गरेको कार्यक्रममा सभापति श्रेष्ठले विद्यार्थी शक्तिमा जोस मात्र नभई होस पनि हुने बताएका हुन् ।

उनले विगतका आन्दोलनहरु विद्यार्थीहरुकै कारण सफल भएको स्मरण गर्दै उनीहरु जोस मात्र नभई होस पु¥याएर काम गर्ने शक्ति भएको धारणा व्यक्त गरे । सभापति श्रेष्ठले नेविसंघको काँधमा ठूलो जिम्मेवारी रहेको बताए । संसारका कुनै पनि तानाशाह विद्यार्थी शक्तिसँग डराउने उनको भनाई छ । ‘संसारका कुनै पनि तानाशाह यदि कसैसँग डराउँछ भने त्यो वास्तवमा विद्यार्थी शक्तिसँंग डराउँछ । तरुण शक्तिसँग डराउँछ’ सभापति श्रेष्ठले भने ।

उनले छिट्टै काँग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी समेत गरे । सभापति श्रेष्ठले भने ‘मुलुकले राजनैतिक निकास पाउन सकेन् । कुर्चिका लागि होइन । व्यवस्था टिकाउनका लागि पनि काँग्रेसले अग्रसरता देखाउन जरुरी छ । यो सिस्टम नै कोल्याप्स हुने स्थितिमा पुगेको छ ।’ सभापति श्रेष्ठले ढिलो चाँडो केही दिनमै काँग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी समेत गरे ।

नेपाली काँग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीले भातृ संस्थाहरूलाई बलियो बनाएर लैजान आवश्यक रहेको बताए । उनले नेविसंघलाई हरेक विद्यालयमा संगठन विस्तार गर्न आग्रह समेत गरे । नेपाली काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सदस्य छन्दबहादुर पहराईले कम्युनिष्टको अवस्था अहिले सामन्ती, पूँजीवादी, नाटकको टालो हालेर चिन्नै नसक्ने अवस्थामा गएको आरोप लगाए । नेविसंघ भोलिको खम्बा भएकाले सशक्त बनाउन आवश्यक रहेको उनको धारणा थियो ।

कार्यक्रममा महासमिति सदस्य महेन्द्र भण्डारी, तरूणदलका क्षेत्रिय सभापति झविन्द्र अर्याल, नेविसंघ कार्यवाहक सभापति राम्जी पन्थी, नेविसंघ नेतृ पार्वती कुँवर लगायतले आ–आफ्ना धारणा राखेका थिए । नेविसंघका क्षेत्रीय सभापति अर्जुन पोखरेलको अध्यक्षता, पुनाराम घिमिरेको स्वागत, कमल कुँवरको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update