Shittalpati
‘जनताहरुको भरोसाको केन्द्र नेपाली काँग्रेस’

पाल्पा, पूर्व मन्त्री एवं नेपाली काँग्रेसकी केन्द्रीय सदस्य कमला पन्तले नेपाली जनताहरुको भरोसाको केन्द्र नेपाली काँग्रेस भएको बताएकी छन् । सोमबार नेपाली काँग्रेस गुल्मीको आयोजनामा भएको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताका हरेक दुःखमा काँग्रेस सहयोगी बन्दै आएकाले भरोसाको केन्द्र पनि काँग्रेस नै रहेको बताएकी हुन् । नेतृ पन्तले वर्तमान अवस्थामा काँग्रेसले आफुलाई बलियो बनाएर लैजान आवश्यक रहेको उल्लेख गरिन् । कार्यक्रममा केन्द्रीय सदस्य रत्न शेरचनले सरकार अहिले गन्तव्य बिहिन बनिरहेको भन्दै प्रतिपक्ष काँग्रेसले अब त्यसलाई सच्याउने बेला आएको धारणा व्यक्त गरिन् । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभालाई निष्क्रियता बनाउन खोजेको उनको आरोप छ ।


राष्ट्रिय सभा सचेतक तथा नेपाली काँग्रेस केन्द्रीय सदस्य अनिता देवकोटाले काँग्रेस राजनैतिक मियोमा नआए मुलुकले निकास नपाउने बताईन् । देशमा भ्रष्टचार मौलाउँदै गएको अवस्थामा सुशासनका लागि पनि काँग्रेस नेतृत्वमा आउनु आवश्यक रहेको उनको भनाई छ । केन्द्रीय सदस्य विन्द्रा रानाले मुलुकले अहिले काँग्रेसलाई खोजीरहेको उल्लेख गरिन् । सरकार अहिले अनिर्णयको बन्दी बनेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीले राजिनमा दिएर बाटो खुला गर्नुपर्ने धारणा व्यक्त गरिन् । हरेक स्थानमा एकतावद्ध भएर लाग्न आवश्यक रहेकोमा रानाले जोड दिईन् । नेपाली काँग्रेस गुल्मीले केन्द्रबाट आएका उनीहरुलाई भव्य स्वागत समेत गरेको छ । उनीहरुलाई नेपाल महिला संघ जिल्ला कार्य समितिको सहजीकरणमा केन्द्रीय काँग्रेस महिला नेतृहरुसँग सोमबार बीपी स्मृति भवन तम्घासमा जिल्लास्थित नेता, कार्यकर्ताहरुले स्वागत गरेका हुन् । कार्यक्रममा सहभागीहरुले काँग्रेसले सशक्त रुपमा प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको बताएका थिए । भेटघाट तथा छलफलमा नेपाली काँग्रेस जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ, सचिव खिलध्वज पन्थी, नेपाली काँग्रेस केन्द्रीय नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठानका सदस्य छन्द पहराई लगायतको सहभागिता रहेको थियो । नेपाल महिला संघका जिल्ला सचिव कल्पना पन्थीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update