Shittalpati
पाल्पामा डढेलोले वन सखाप ६४ ,ठाउँमा आगलागी

कृष्ण पोखरेल
तानसेन,  चैत महिना लागेसँगै जिल्लामा डढेलोका घटनाहरु बढ्दै गएका छन् । यहाँ अहिले दिनहुँ जसो डढेलोका घटनाहरु बढ्ने गरेका छन् । अहिले यहाँका अधिकांस वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी बनेका छन् । जङ्गलमा दिनदिनै बढेको डढेलोले दुई/तीन वर्षयताका नयाँ बिरुवा डढाएर खरानी बनाएको हो । डढेलोले वयस्क र पुराना रुख पनि मारेको छ । चैत लागेसँगै बढेको डढेलोले वन क्षेत्र उजाड बनेको छ । अहिले रुख बिरुवाले पालुवा फेर्न र झारेका पुराना पात सुकेकाले पनि वनमा लाग्ने डढेलोले आगो चाँडै फैलने गर्छ । वन क्षेत्रमा दिनदिनै बढेको डढेलोले रुख, बिरुवा सखाप हुनुको साथै नजिकका बस्ती पनि आगलागीको उच्च जोखिममा छन् । यसपालि हिउँदे वर्षा नभएको हुँदा डढेलो झन् फैलिएको स्थानीय बताउँछन् । हिउँदे वर्षाले रुख, बिरुवाले झारेका पातपतिङ्गर भिजाउँदा आगो ढिलो फैलने विगत अनुभव सम्झँदै वन क्षेत्र नजिकका बासिन्दा यसपालि हिउँदे वर्षा नहुँदा चैत मध्यभित्रै डढेलोले विकराल रूप लिएको बताउँछन् । अहिलेसम्मा जिल्लाका ६४ वटा सामुदायिक जङ्गलमा डढेलो लागेको छ । डढेलोबाट ६४ वटा सामुदायिक वनको १ हजार ५ सय १० हेक्टर जमिनको घाँसपात दाउरा काठपात जलेर नष्ट भएको छ । दिनहुँ बढ्दो गर्मीसँगै लामो सयमदेखी पानी नपरेकाले दिनहँु पाल्पामा आगलागीका घटना बढ्दै गएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ । दैनिक दुई देखी तीन सय हेक्टर जमिनमा आगलागी हुंदै आएको डिभिजन प्रमुख डा.मोहन पौडेलले बताए । आगलागीबाट क्षतिको विवरण संकलन भईरहेको डिभिजन प्रमुख पौडेलले बताए । पाल्पाको १० वटा पालिका मध्ये सबैभन्दा बढी आगलागी रिब्दीकोट गाउँपालिका भित्र रहेको छ ।


जसमा ४ वटा सामुदायिक वनको ५ सय २९ हेक्टर क्षेत्रफलमा आगलागी भएको छ । तानसेन नगरपालिका भित्रका १६ वटा सामुदायिक वनको १ सय ८८ हेक्टर क्षेत्रफल, तिनाउँ गाउँपालिकाको १३ वटा सामुदायिक वनको १ सय ९५ हेक्टर जमिनमा आगलागी भएको छ । यसैगरी माथागढी गाउँपालिका भित्र ९ वटा सामुदायिक वनको २ सय ६४ हेक्टर, रामपुर नगरपालिकाका २ वटा सामुदायिक वनमा ४ हेक्टर र निस्दी गाउँपालिकाको ४ वटा सामुदायिक वनको १७ हेक्टर जमिनमा आगलागी भएको छ । रम्भा गाउँपालिका भित्र भने हालसम्म आगलागीका घटना भएको छैन आगलागीबाट माथागढी गाउँपालिका ४ झडेवाका ६५ वर्षीय मानबहादुर सिंजालीको जङ्गलमा आगो निभाउने क्रममा केही दिन अघि मृत्यु भएको थियो भने, सयौ पशु चौपायहरु जलेका थिए । आगलागीका घटना दिनहुँ बढ्दै गएपछी पाल्पाकै ४ वटै सुरक्षा निकाय उच्च सर्तकतामा खटिएका छन् ।जङ्गलमा लागेको डढेलो घरबस्तीमा नफैलियोस् भनी सबै किसिमका तयारीहरु गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी यमलाल पोखरेलले बताए ।


५ वर्षपछी पाल्पामा सबैभन्दा ठूलो आगलागी भएको कार्यालयका सूचना अधिकारी पोखरेलले जानकारी दिए । आगलागीका घटनामा सहभागीहरुको खोजबिन भईरहेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ । गतबर्ष निरन्तर पानी परेको, यो समयमा लकडाउन भएकाले अधिकाश मानिसहरु घर–घरमा बसेको कारण पाल्पामा कुनै पनि आगलागीका घटना नभएको सूचना अधिकारी पोखरेलले बताए । पाल्पामा तानसेन नगरपालिकाको मात्र एक वटा दमकल रहेको छ । आगलागीका घटना बढेपछी दिनहुँ दमकलको प्रयोग बढेको तानसेन नगरपालिका सरसफाई शाखा प्रमुख शंकर भण्डारीले बताए । आगलागीका घटनाहरु बढ्दै गएपछी पाल्पाको आकाश तुवाँलोले ढाकेको छ । आगलागीको कारण वायु प्रदुषण भएपछि पाल्पामा विहान साँझ पानी पर्ने जस्तै तुवालोले आकाश ढाकेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update