Shittalpati
बगनासकाली बन्यो लुम्बिनी प्रदेशकै पहिलो ‘बालमैत्री’ गाउँपालिका

रामचन्द्र रायमाझी

पाल्पा, पाल्पाको बगनासकाली गाउँपालिकालाई लुम्बिनी प्रदेशकै पहिलो बालमैत्री गाउँपालिका घोषणा गरिएको छ । शनिबार एक औपचारिक कार्यक्रमका बिच गाउँपालिकास्तरीय बालसञ्जालकी अध्यक्ष इन्दु गाहा र गाउँपालिका महासंघ नेपालका केन्द्रीय सदस्य तथा गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले संयुक्त रुपमा बगनासकालीलाई लुम्बिनी प्रदेशको पहिलो र नेपालको तेस्रो बालमैत्री गाउँपालिकाको रुपमा घोषणा गरेका हुन् । ९ वटा वडाहरू रहेको गाउँपालिकामा बालमैत्रीका लागि आवश्यक पर्ने सबै सूचकहरू पूरा भएपछि प्रदेशको पहिलो बालमैत्री गाउँपालिका घोषणा गरिएको हो । बालमैत्री गाउँपालिका घोषणा भएपछि नेपालका अन्य स्थानीय तहहरूले बगनासकाली गाउँपालिकालाई सिकाइ केन्द्रको रूपमा लिन सक्ने गरी काम अघि बढाइएको गाउँपालिका अध्यक्ष बस्यालले बताए ।

 

बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति बमोजिम नेपाल सरकारले तय गरेका ३९ वटा सूचकमा तोकिए अनुसारको नतिजा प्राप्त गर्नुपर्ने व्यवस्था छ । जस मध्ये बालमैत्री स्थानीय तह घोषणका लागि १७ वटा सूचकमा सतप्रतिशत र बाँकी २२ वटा सूचकमा ८० प्रतिशत नतिजा ल्याएमा बालमैत्री घोषण गर्न सकिने प्रावधान छ । जसमध्ये बगनासकाली गाउँपालिकाले ३० वटा सूचकमा सतप्रतशित र ९ वटा सूचकमा ९० प्रतिशत भन्दा बढी नतिजा प्राप्त गरिसकेको छ भने १६ वटै खुड्किलाहरू टेकेर काम गरेको छ । बालमैत्री गाउँपालिका घोषणापछि त्यसको दीगोपनाका लागि रणनीतिक योजना निर्माण गरिसकिएको र वडादेखि गाउँस्तरीय समिति गठन गरेर परिचालन गरिएको अध्यक्ष बस्यालले बताए । उनले भने ‘हामीले पालिकालाई बालमैत्री घोषणा गयौं, यो सँगै बालअधिकार र बालमैत्री स्थानीय शासनलाई दिगो बनाउनुपर्छ भन्ने थप जिम्मेवारी हामीले महसुस गरेका छौ । हामीले बालिबालिकाको अवस्था र सूचकहरु थप राम्रो बनाउन, गुणस्तरीय बालमैत्री वातावरण निर्माणका लागि बालबालिकाको क्षेत्रमा निरन्तर लगानी गर्नेछौं । हामीले बालबालिकाको समग्र वृद्धि,विकासलाई प्राथमिकतामा राखी बालमैत्री गाउँको पहिचान स्थापित गर्‍यो , जसको निरन्तरता सदैव हुनेछ ।’

गाउँपालिकाले घोषणा कार्यक्रममा बालमैत्री गाउँपालिकास्तरीय बाल सञ्जालका अध्यक्ष इन्द्र गाहालाई प्रमुख अतिथिको रुपमा राखेको थियो । बालबालीकाहरुकै कार्यक्रम भएकाले बालसञ्जालबाटै उनलाई प्रमुख अतिथि बनाइएको हो । घोषणा कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेकी गाहाले बालबालिकाहरुको हकहितका निम्ती गाउँपालिकाले महत्वपूर्ण कार्य गरेको बताईन् । उनले अब गाउँपालिका भित्रका कुनै पनि बालबालिकाहरु अधिकारबाट बञ्चित नहुने उनको धारणा रहेको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले गाउँपालिका भित्र सक्षम, योग्य नागरिक उत्पादन गर्नका लागि बालबालिकाहरुमा लगानी गरेको बताईन । उनले देश तथा विदेशमा समक्ष नागरिकको पहिचान दिने गरी गाउँपालिकाले काम गरेको जानकारी दिईन ।

कार्यक्रममा नेकपा एमाले बगनासकाली गाउँपालिका अध्यक्ष हरि पाठक, नेपाली काँग्रेस बगनासकालीका अध्यक्ष यमलाल तिमिल्सिना, राप्रपाका कपिल ढुङ्गाना, बालमैत्री सहजकर्ता शर्मिला पौडेल,गाउँपालिकामा बालमैत्री कार्यक्रमको सुरुवात गर्ने गाउँपालिका पूर्व प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ, पत्रकार महासंघका पूर्व अध्यक्ष गोविन्द भट्टराई,पत्रकार महासंघका कोषाध्यक्ष मिलन विक, बगनासकाली पत्रकार समूहका उपाध्यक्ष भोजराज तिमिल्सिना लगायतले लुम्बिनी प्रदेशमै पहिलो बालमैत्री बनेकोमा गाउँपालिकालाई बधाई दिदै घोषणा अनुसार कार्यमा निरन्तर लाग्न आग्रह गरेका छन् । उनीहरुले बालबालिकाहरू सक्षम, सवल नहुँदासम्म समाज विकास निर्माणमा अगाडि जान नसक्ने भन्दै बालबालिका भोलिको समाज निर्माणको नेतृत्वदायी भूमिकामा रहन सके मात्र बालमैत्री गाउँपालिका घोषणाले सार्थक पाउने बताएका थिए । २९ हजार ३ सय २७ जनसंख्या रहेको गाउँपालिकामा ८ हजार २ सय १८ जना बालबालिका रहेका छन् । पालिकाले बालमैत्री वातावरण निर्माणको लागि ९ वटा वडामा ९५ वटा बालक्लव गठन गरेको छ । अभियानको क्रममा गाउँपालिकाले सबै विद्यालयलाई यस अघि नै पूर्ण बालमैत्री विद्यालय घोषणा, पूर्ण संस्थागत सुत्केरी भएको पालिका घोषणा, ५ वर्षका मुनिका बालबालिकाको शतप्रतिशत जन्मदर्ताका सूचकमा शतप्रतिशत काम सकिसकेको छ । घोषणा कार्यक्रम गाउँपालिकास्तरीय बाल सञ्जालका सचिव दिनेश पाण्डेको सञ्चानमा भएको थियो ।

प्रकाशित मिति: शनिबार, चैत १४, २०७७  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update