Shittalpati
गुल्मीमा खानेपानीको अवस्था बुझ्न तथ्याङ्क संकलन गरिदै

गुल्मी, जिल्लामा खानेपानीको अवस्था बुझ्न तथ्याङ्क संकलन गरिने भएको छ । जिल्लामा रहेका खानेपानीको सबै संरचनाको तथ्याङ्क संकलन गरिने भएको हो । स्थानीय खानेपानी सरसफाइ तथा स्वच्छता योजना निर्माण गर्नका लागि एन–वास मोबाइल एप्लिकेसनमार्फत तथ्याङ्क संकलन गर्न थालिएको छ । तथ्याङ्क संकलनका लागि बिहिबार जिल्ला स्तरीय कार्यशाला गोष्ठी समेत आयोजना गरिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय बुटवलको आयोजना, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गुल्मी र खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ जिल्ला शाखा गुल्मीको समन्वयमा जिल्ला समन्वय कार्यशाला गोष्ठी गरिएको जिल्ला वास संयोजक रविन्द्र पराजुलीले जानकारी दिए । जिल्लाका स्थानीय तहमा गणक गई त्यहाँको खानेपानीको अवस्थाबारे बुझेर वास्ताविक तथ्याङ्क लिने उद्देश्य रहेको पराजुलीले जानकारी बताए । गोष्ठीमा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले कुनै पनि योजना राम्रो बनाउन तथ्याङ्क सही हुन आवश्यक पर्ने बताए । उनले जिल्लामा खानेपानीको समस्या रहेकाले यसको अन्त्यका लागि सही तथ्याङ्कको आवश्यक पर्ने भएकाले गणकको महत्वपूर्ण भूमिका रहनेमा पराजुलीले जोड ।

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रीय सदस्य राममल्ल ठकुरीले स्थानीय सरकारले खानेपानीको संरक्षण गर्नुपर्ने बताए । वास कार्यक्रममार्फत जिल्लामा खानेपानी अवस्थाका बारेमा बुझ्न सहज हुने उनको भनाई छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गुल्मीका प्रमुख अनोज उपाध्यायले जिल्लाको खानेपानीको अवस्थाबारे कार्यक्रममा जानकारी गराएका थिए । तथ्याङ्क संकलनका लागि २३ जना गणक समेत खटाइएको छ । उनीहरुले जिल्लामा रहेका खानेपानीका सबै संरचनाहरुको अवस्थाबारे तथ्याङ्क संकलन गर्ने छन् । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ जिल्ला अध्यक्ष विष्णु पौडेलको अध्यक्षतामा कार्यशाला गोष्ठी भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update