Shittalpati
पाल्पामा बजेट, कार्यक्रम र राजस्व सम्बन्धी छलफल

पाल्पा, पाल्पाको तानसेनमा बजेट, कार्यक्रम तर्जुमा र राजस्व सम्बन्धी छलफल भइरहेको छ । गाउँपालिका राष्ट्रिय महासंघ नेपालको आयोजनामा विहीबारदेखि गाउँपालिकाका उपप्रमुख, योजना शाखाका प्रमुखहरुको बिच बजेट, कार्यक्रम तर्जुमा र राजस्व सम्बन्धी छलफल भइरहेको छ । स्थानीय तहमा बजेट तथा कार्यक्रम र राजस्व परामर्श समितिको दक्षता अभिवृद्धी गर्ने उद्देश्यले आपसी सिकाई आदान–प्रदान गर्ने गरी कार्यशाला गोष्ठी आयोजना गरिएको हो ।

गोष्ठी उद्घाटन समारोहमा महासंघका केन्द्रीय महासचिव वंशालाल तामाङ्गले स्थानीय सरकारलाई आर्थिक र प्रशासनिक रुपमा सक्षम र बलियो बनाउनका लागि गोष्ठीले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले योजना र सुशासनको प्रत्याभूति स्थानीय तहमा भएको भन्दै जनतालाई थप जनमैत्री बनाउन गोष्ठीले सहयोग गर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य तथा बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले स्थानीय सरकार भएको महसुुस जनताले कोभिडका बेला गर्न पाएको बताए । उनले स्थानीय सरकारलाई बलियो बनाएर लैजान सके मात्र विकासले गति लिनेमा विश्वास व्यक्त गरे । संघीय सरकारले कुल बजेटको १४ प्रतिशत मात्र स्थानीय तहमा छुट्याउने गरेको भन्दै अध्यक्ष बस्यालले अब त्यसलाई बढाएर स्थानीय तहमा विकास केन्द्रीत बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा छत्रदेव गाउँपालिका अर्घाखाँचीका अध्यक्ष लेखनाथ पोखरेलले स्थानीय तहको विकासमा सबै गाउँपालिकाहरु एक भएर अगाडि बढ्नुपर्ने बताए । रिब्दीकोट गाउँपालिका पाल्पाका अध्यक्ष नारायण जिसीले कर्मचारी र जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धिमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए । गोष्ठीमा गुल्मी, पाल्पा र अर्घाखाँचीका १९ गाउँपालिकाका प्रमुख, उपप्रमुख र योजना शाखाका प्रमुखहरुको सहभागिता रहेको छ । कार्यशाला गोष्ठीमा गाउँपालिकाले विनियोजन गर्ने बजेट, कार्यक्रम र राजस्वको अवस्था, त्यसलाई वृद्वि र विस्तार गर्न सकिने पक्षहरुका विषयमा व्यापक छलफल भइरहेको छ । गोष्ठी शुक्रबार सकिने छ । गोष्ठी उद्घाटन समारोह महासंघका केन्द्रीय सदस्य तथा बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालको अध्यक्षता, महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेलको स्वागत, महासंघ सचिवालयकी गीता श्रीसको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update