Shittalpati
तानसेनमा कालीगण्डकीको पानी झर्‍यो , तिर्खा मेटिने आसमा तानसेनवासी

कृष्ण पोखरेल
पाल्पा,  तानसेनमा कालीगण्डकीको पानी झरेको छ । छेर्लुङ्ग र रानीमहल क्षेत्रको बिच भागबाट कालीगण्डकीको पानी लिफ्ट गरी तानसेन बतासेडाँडाको मुल ट्याङ्कीमा झारिएको हो । यसँगै महत्वाकांक्षी योजनाको रुपमा रहेको तानसेन लिफ्टिङ् खानेपानी आयोजना अन्तर्गतको पहिलो चरणको काम सकिएको छ । छ वटा स्टेसनमार्फत एक हजार ४४ मिटर उचाईमा रहेको रिजर्ब ट्याड्ढीमा पानी तान्ने काम सफल भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय अर्घाखाँचीले जनाएको छ । दुई वर्षअघि नै सक्नुपर्ने भएपनि ढिलाई गरेर यो खानेपानी आयोजनाको पहिलो चरणको काम सकिएको हो । लामो समय देखी खानेपानीको समस्या रहँदै आएको तानसेनमा कालीगण्डकीबाट ल्याइएको पानीले तिर्खा मेटाउनेमा तानसेनवासीले आसा गरेका छन् । निर्माण व्यवसायी रमन मृत सञ्जीवनी जेभी, काठमाडौँले २५ करोड ३९ लाखमा कालीगण्डकी खानेपानी योजनाको सम्झौता गरेको थियो ।

कोभिडका कारण योजना सम्पन्न गर्नमा केही ढिलाई भएको कम्पनीले जनाएको छ । कालीगण्डकीको पानी पूर्ण क्षमतामा मुहानदेखी बतासे डाँडाको रिजर्भ ट्याङ्कीमा झारिएको र पानीको परीक्षण तथा फिल्टर गरेर उपभोक्ताको घर–घरमा पानी वितरण गरिने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख रामप्रसाद घिमिरेले बताए । पहिलो चरणमाको काम अन्तर्गत कालीगण्डकीको मुहान देखी छ वटा पम्पस्टेसन, पाँच वटा ट्याड्ढी, पम्प हाउस र पम्प अपरेटर बस्ने घर, पाइप बिस्तार, विद्युत बिस्तार, गरी कालीगण्डकीबाट लिफ्ट गरी तानसेनको बताँसेडाँडमा पानी झार्ने काम समेत सकिएपछी तानसेनवासीहरु उत्साहित भएका छन् । अहिले पहिलो चरणको काम सकिएकाले दोस्रो चरणको काम अन्तर्गत पानी पिउन योग्य छ की छैन भनेर प्रयोगशालामा जाँच गर्ने काम भईरहेको छ । कालीगण्डकी लिफ्ट प्रणालीबाट तानसेनको मुख्य ट्याड्ढीमा प्रतिसेकेण्ड ३६ लिटर पानी आउने छ । पहिलो चरणमा बनेको इनारबाट २० वर्षपछि पनि प्रतिसेकेण्ड ३६ लिटर पानी आउने र आयोजनालाई दिर्घकालीन बनाउन दोस्रो चरणमा थप एउटा इनार र प्रशोधन केन्द्र निर्माण गर्न थालिएको आयोजनाका साईट ईञ्चाज उत्सव पोखरेलले बताए । दोस्रो चरणमा इनार र प्रशोधन केन्द्र निर्माण गर्न ६ करोड ७ लाखमा ठेक्का सम्झौता भएकाले आगामी वर्षभित्रै काम सकिने कार्यालयले जनाएको छ । तानसेनको ५० हजार जनसंख्यालाई दैनिक ३५ लाख लिटर खानेपानीको आवश्यकता परिपूर्ति गरी तानसेनलाई सुख्खा क्षेत्र घोषणा गरी कालीगण्डकीबाट लिफ्टिङ् योजना अघि बढाइएको तानसेन खानेपानी उपभोक्ता समितिका कार्यवाहक अध्यक्ष डा.पुरनमान बज्राचार्यले बताए । कालीगण्डकीको लिफ्ट पानी होटल, उद्योग कलकारखानालाई आवश्यकता अनुसारको धारा वितरण गरिने समितिले जनाएको छ । होटलको क्षमता, कामदारको अवस्था, सरकारलाई राजश्व तिरेको आधारमा उद्योग कलकारखाना तथा होटलहरुलाई पानीको सुविधा प्रदान गर्ने समितिले निती बनाएको कोषाध्यक्ष भिमसेन कार्कीले बताए । पछिल्लो समयमा सदरमुकाम तानसेनमा पानीको समस्या, घट्दो व्यापारिक चहलपहलको कारण तानसेनबाट बुटवल भैरहवा, नारायणगढ काठमाडौ जस्ता स्थानमा बसाई सराईको क्रम रोकिने खानेपानी समितिले जनाएको छ ।२०३५ साल अघि ढुङ्गे धाराबाट तानसेनवासीले पानीको आवश्यकता पुरा गरेका थिए । बस्ती तथा जनसंख्या बढ्दै गएपछी पहिलो पटक भुल्के खानेपानी योजना २०३५ सालमा जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा तानसेनमा पानी लिफ्ट गरी वितरण गरिएको थियो । बढ्दो शहरीकरण, जनसंख्याको कारण भुल्केको पानी पर्याप्त नभएपछी पाल्पा उद्योग वाणिज्य संघको पहलमा महायज्ञ गरी रकम संकलनबाट सिस्ने लिफ्ट खानेपानी योजना सञ्चालन गरिएको थियो ।

तानसेनमा सिस्ने, तीनधारा, होलाङदी बाझा र भुल्केबाट पानी लिफ्ट गरिएपनि गर्मीयाममा एक हप्तामा एक पटक र बर्षातको समयमा ३ दिनमा १ घण्टा पानी वितरण हुँदै आएको छ । पर्याप्त पानी नहुँदा उपभोक्तादेखी होटल, रेष्टुरा तथा घर निर्माण कर्ताहरु टंयाक्रको पानीमै निर्भर रहनु पर्ने बाध्यता थियो । तर यो योजना सफल भएपछि भने बाध्यता हट्ने भएको छ । ट्याङ्करको पानी उपभोक्ता ५ हजार लिटर लाई २ हजार ५ सय रुपैयाँमा खरिद गर्दै आएका छन् । तानसेनमा दैनिक १ सय ट्याक्टर पानी खपत हुँदै आएको छ ।तानसेन खानेपानी उपभोक्ता समितिले हालसम्म ३ हजार ५ सय निजीधारा वितरण गरेको छ भने नयाँ धाराको लागि करिव १ हजार ५ सय उपभोक्ताले निवेदन दिएको समितिका कार्यालय प्रमुख दिवाकर अर्यालले बताए । तानसेनको खानेपानी लिफ्टमा आधारित भएकाले विद्युत् अवरुद्ध हुँदा, पानी तान्ने मोटर विग्रिदा पानीको हाहाकार मच्चिने गरेको छ । पाल्पाका अधिकाशं स्थानमा लिफ्ट प्रणालीबाट तानी वितरण हुँदै आएको छ ।

 

प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update