Shittalpati
पाल्पामा वनक्षेत्र अतिक्रमण गरी बनाइएका टहरामा आगो लगाइयो

रामचन्द्र रायमाझी

पाल्पा,जिल्लाको तिनाउ गाउँपालिका–१ कचल सानीउदाङमा वनक्षेत्रको जग्गा अतिक्रमण गरी बनाइएका अस्थायी टहरा हटाउन आगो लगाइएको छ । राष्ट्रिय वन अतिक्रमण गरी अस्थायी घरटहरा बनाएर अतिक्रमण गरिएको उजुरीपछि टहरा हटाउन आगो लगाइएको हो ।रुपन्देही, रुद्रपुर हरैयाका कृष्णप्रसाद उपाध्यायले व्यवसायिक प्रयोजनका लागि वनको जग्गा अतिक्रमण गरि टहरा निर्माण गरेका थिए । सहायक वन अधिकृतहरु बेद प्रसाद भण्डारी, रामध्यान कुमार शाह र डिभिजन वन कार्यालयका सूचना अधिकारी एवं रेञ्जर यमलाल पोखरेलको नेतृत्वमा डिभिजन वन कार्यालय,तिनाउ सब डिभिजन वन कार्यालय र रैनादेवी छहरा सब डिभिजन वन कार्यालयका कर्मचारीहरुको संयुक्त गस्ती टोलिले उक्त क्षेत्रमा वन अतिक्रमण गरेर बनाएको टहरामा आगो लगाएको हो ।

नेपाल सरकारको स्वामित्वको जग्गा अतिक्रमण गरी बनाइएको एक अस्थायी टहरामा आगो लगाई हटाइएको डिभिजन वन कार्यालयका रेञ्जर यमलाल पोखरेलले बताए । उनले भने ‘एक महिना अघिदेखि उपाध्यायले विना इजाजत अवैध तरिकाले टहरा निर्माण गरी बसोवास गर्दै आइरहेकोमा उजुरी आएपछि आगो लगाएर हटाइएको हो ।’ उनका अनुसार उपाध्यायले व्यवसायिक प्रयोजनका लागि घरछाप्रो समेत बनाई वनक्षेत्रको एक हेक्टर जग्गामा डोजर लगाएर सम्याएका थिए । बनको जग्गा अतिक्रमण गरी टहरा बनाएपछि खाली गर्न पटक/पटकको आग्रहलाई नटेरेको कारण आगो नै लगाएर हटाउनु परेको रेञ्जर पोखरेलले भनाई छ । वडाध्यक्ष, स्थानीय सामुदायिक वनका प्रतिनिधिको रोहवरमा मुचुल्का गरेर टहरामा आगो लगाइएको पोखरेलले जानकारी दिए । पोखरेलले भने‘जग्गा अतिक्रमण गरी टहरा बनाएका उपाध्यायले उक्त क्षेत्रमा आफ्नो जग्गा रहेको भन्दै तिनाउ सव–डिभिजनमा लालपूर्जा देखाएपनि दाबी गरेको जग्गा भने जीपीएस नापी गर्दा १ सय १० मिटरभन्दा टाढा रहेको देखिएको छ ।’ अतिक्रमणकारी उपाध्याय भने अहिले फरार रहेका छन् । उनको खोजी भइरहेको छ । टहरामा भएका सबै सामान वन कार्यालयले नियन्त्रणमा लिएको छ ।

राष्ट्रिय वनको जग्गा अतिक्रमण गरी घरटहरा बनाउनेलाई वन ऐन, २०७६ को दफा ४९ अनुसार बन अपराध कसुरमा कारवाही गरिने डिभिजन वन कार्यालयका रेञ्जर पोखरेलले बताए । उनका अनुसार अतिक्रमणकारीलाई ५ वर्ष कैद, एक लाखसम्म जरिवाना वा दुवै हुने व्यवस्था रहेको छ । राष्ट्रिय वनमा कुनै पनि व्यक्तिलाई हक वा सहुलियत प्राप्त नहुने भएकोले सो कार्य वन ऐन विपरीतको कार्य भएकोले सो वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको जग्गा सरकारी नाममा फिर्ता हुने डिभिजन कार्यालयले जनाएको छ । उक्त जग्गामा यही वर्ष वृक्षारोपण गर्ने र स्थानीय सामुदायिक वनलाई हस्तान्तरण गर्ने योजनामा वन कार्यालय रहेको छ । पाल्पाका अन्य स्थानहरुमा समेत सरकारी वन क्षेत्र कब्जा गरेर स्थायी वा अस्थायी टहराहरु निर्माण गरेको पाइन्छ । तिनाउको कचल, दोभान, रैनादेवी छहराका सत्यवती, बल्ढेङगढी, जुठाका तराईसँग जोडिएका चुरे क्षेत्रमा सामुदायिक र राष्ट्रिय वन अतिक्रमण गरेर घरटहरा निर्माण भइरहेका छन् ।

 

प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update