Shittalpati
बगनासकालीमा जन्मदर्ता सम्बन्धी सचेतना

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिकाका वडाहरुमा जन्मदर्ता सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ । गाउँपालिकाको वडा नं. १, २ र ६ मा जन्मदर्ता सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको हो ।कार्यक्रमा जन्मदर्ता सम्बन्धी कानुनी व्यवस्था, जन्मदर्ता सम्बन्धी भएका निर्देशन तथा परिपत्रहरू सम्बन्धी जानकारी, जन्मदर्ताको आवश्यकता र महत्व, बालमैत्री व्यवहार, बाल अधिकार, जन्मदर्ताको लागि संलग्न गर्नुपर्ने कागजपत्रबारे सहभागीहरूलाई जानकारी गराइएको छ ।

गाउँपालिकाका योजना अधिकृत भरतराज घिमिरे र पञ्जीकरण सेवा इकाई प्रमुख भोजराज भट्टराईले कार्यक्रममा सहजीकरण गर्दै बालबालिकाको जन्मदर्ता नैसर्गिक अधिकार भएकाले कानूनत नमिल्ने र प्रमाणित गर्न नसकिने विषय बाहेकका जन्मदर्तालाई कुनै बहाना बनाएर रोक्न नहुने बताए । अभिमुखीकरणमा जनप्रतिनिधि, बालमैत्री कार्यक्रम सहजकर्ता, सञ्चारकर्मी र कर्मचारीहरूले जन्मदर्ताको क्रममा आइपरेका समस्याहरूका बारेमा बताएका थिए । वडा नं. १ मा सोमबहादुर झेंडी, २ मा टेकनाथ शर्मा गैरे र ६ मा लक्ष्मीप्रसाद अधिकारीको अध्यक्षतामा सचेतना कार्यक्रम सञ्चालन भएको थियो । बगनासकाली गाउँपालिकाकले बालमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत ५ वर्ष मुनिका बच्चाहरूको जन्मदर्ता सम्बन्धी वडास्तरीय सचेतना कार्यक्रम पालिकाका सबैै वडामा सञ्चालन गर्ने कार्यक्रम संयोजक भोजराज भट्टराईले बताए ।

प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update