Shittalpati
लिफ्टिङ्गबाट घर–घरमा पुग्यो खानेपानी

हाम्रा संवाददाता
गुल्मी,जिल्लाको रेसुङ्गा नगरपालिका ४ को खाम्सेपानी सेउघामा लिफ्टिङ्ग बाट खानेपानी पुगेको छ । रैदीखोलाको पानी लिफ्टिङ्ग प्रविधिबाट तानेर सेउघाका घर–घरमा पुर्‍याइएको हो । बस्ती डाँडामा रहेकाले यहाँ पानीको चरम समस्या रहँदै आएको थियो । लिफ्टि·बाट खाने पानी घर–घरमा पुर्‍याइएपछि यहाँको वर्षोदेखिको खानेपानी समस्य अहिले समाधान भएको छ । विहान उज्यालो हुन नपाउँदै डोकोमा गाग्री बोकी घण्टौं समय लगाएर खानेपानी बोक्दै आएका यहाँका स्थानीय अहिले घर–घरमा खानेपानीको धारा पुगेपछि दङ्ग छन् ।वर्षौंदेखि खानेपानीको निकै कष्ट भोग्न बाध्य यस क्षेत्रका स्थानीयलाई बिहान उठेपछि अरु कामकाज भन्दा खानेपानीको जोहो गर्नु पर्दा निकै पिरलो हुन्थ्यो, तर अहिले घर–घरमा जडान गरिएका धारामा पानी आएको देख्दा उनीहरू खुसी भएका छन् ।

खानेपानीका लागि निकै समस्या झेल्दै आएका उनीहरूको अथक प्रयास र मेहनत पछि लुम्बिनी प्रदेश सरकार र रेसुङ्गा नगरपालिकाको ४२ लाखको लागतमा खानेपानीको सुविधा पुगेको हो । रैदी पाण्डे भण्डारी टोल लिफ्टिङ्ग खानेपानी आयोजनामार्फत अहिले यहाँ खानेपानी पुगेको छ । उक्त आयोजनाको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरेका छन् । खानेपानीको उद्घाटन गर्दै नगरप्रमुख भुसालले सुख्खा डाँडामा लिफ्टिङ्ग मार्फत खानेपानी पुर्‍याउन पाउदा निकै खुसी लागेको बताए । उनले रेसुङ्गा नगरमा ठूला खानेपानी अयोजनाहरु चलिरहेकाले नगरका १४ वटा वडामा २ वर्ष भित्र खानेपानी पुर्‍याउन लक्ष्य नगर सरसरकारको रहेको बताए । रैदी खोलामा निजि जग्गामा रहेको पानीको मुल जग्गा सहित उपलब्ध गराएपछि लिफ्टिङ्ग मार्फत खानेपानी पुर्‍याउन सफल भएको वडाअध्यक्ष विजय मरासिनीले बताए । खानेपानीका लागि लामो समयसम्म रकम परेता पनि मुल नभएकै कारण समस्या पर्दै आएको थियो । तर पछि रैदीखोलामा रहेको खेतमा निजि जग्गामा मुल भेटिएपछि त्यो जग्गावालाले मुल र जग्गा दिएपछि खाम्सेपानी वासीको घरमा खानेपानी पुगेको हो ।


खानेपानी योजना सम्पन्न गर्न सहयोग गर्ने र जग्गा उपलब्ध गराउने व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ । वडावासीले खानेपानी पाउँदा नगरपालिकाको शुसासनको सवालमा १ नम्बर थपिएको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए । उक्त खानेपानी योजना लुम्बिनी प्रदेश सरकारको ३० लाख र रेसुङ्गा नगरपालिकाको वातावरण अनुकुलित रकमबाट १२ लाख गरी ४२ लाखको लागतमा सम्पन्न भएको हो । तत्काल ३५ घरमा एक घर एक धारा मार्फत खानेपानी बितरण गरिए पनि पछि थप विस्तार गरिने भएको छ । रैदीखोलामा २० हजार लिटरको र खाम्सेपानीमा ३० हजार लिटरका २ वटा टंकीमार्फत खानेपानी वितरण गरिएको छ ।
–पत्रकार अनिल खत्रीको सहयोगमा

प्रकाशित मिति: आइतबार, चैत ८, २०७७  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update