Shittalpati
मातृ तथा शिशु मृत्युदर घटाउनुपर्नेमा जोड

पाल्पा(झडेवा), मातृ तथा शिशु मृत्युदर घटाउनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । पाल्पाको माथागढी गाँउपालिकाले आयोजना गरेको मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य सम्बन्धी अभिमुखीकरण कार्यक्रमका सहभागीहरुले गर्भवती तथा सुत्केरी र नवजात शिशुको मृत्युदरलाई घटाउन सबैले ध्यान दिनुपर्ने बताएका हुन् ।
कार्यक्रममा सहभागीहरुले मातृ तथा शिशु मृत्युदरलाई घटाउन सबै पक्षको योगदान हुनुपर्नेमा जोड दिए । गाउँपालिकामा बाल तथा मातृ मृत्युदरलाई घटाउन विभिन्न सेवा सुविधा साथै जनचेतना कार्यक्रम गरिदै आएको भएपनि शिशु तथा आमाको मृत्युदर भै रहेकाले के कारणले ? कसरी मृत्यु भयो ? भन्ने कुराको लेखाजोखा गरेर थप प्रतिकार्यत्मक कार्यक्रम गरिने गाउँपालिकाले जनाएको छ । कार्यक्रममा गाँउपालिकाका सबै स्वास्थ्य संस्था अन्र्तगत समुदायमा लागु हुने गरी मृत्युदरलाई घटाउनका लागि स्वास्थ्य संघ संस्थाबाट हुने प्राविधिक सेवा सुविधालाई बढाउनु पर्नेमा समेत जोड दिइएको छ । मृत्युको कारण खोजी यस्तो समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्नुपर्ने गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । गाँउपालिकामा मातृ तथा पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य कार्यक्रमलाई प्रभावकारी बनाउनको लागि गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईको अध्यक्षतामा ७ सदस्यीय पालिका स्तरीय समिति समेत गठन गरिएको छ । कार्यक्रमको सहजिकरण जिल्ला स्वास्थ्य कार्यलयका प्रभास पन्थी र करिश्मा सिंहले गरेका थिए । गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरको अध्यक्षता, स्वास्थ्य शाखाका प्रमुख केशव जिसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।कार्यक्रममा जनप्रतिनिधि, कर्मचारीहरुको व्यापक सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update