Shittalpati
पाल्पामा उद्योग सहजकर्ता तालिम

कृष्ण पोखरेल
पाल्पा, पाल्पामा उद्योग सहजकर्ता तालिम सञ्चालनमा ल्याइएको छ । झिमरुक स्किल डेभलपमेण्ट एण्ड भोकेश्नल कलेजले उक्त तालिम सञ्चालनमा ल्याएको हो । जिल्लाका स्थानीय सरकारहरुले उद्योग सहजकर्ताको अभावमा लघु उद्यम विकास कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसकिरहेको अवस्थामा कलेजले तालिम सञ्चालानमा ल्याएको छ ।कलेजले तानसेनमा शाखा स्थापना गरी तालिम सञ्चालन गरेको छ । शाखाको तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले एक औपचारिक कार्यक्रमका बीच शुभारम्भ गरेका हुन् । शाखाको शुभराम्भ गर्दै नगर प्रमुख शाहीले जिल्लाका स्थानीयतहमा उद्योग सहजकर्ताको अभाव भएको अवस्थामा तालिमले महत्वपूर्ण टेवा पुग्ने उनले विश्वास व्यक्त गरे । तानसेन नगरपालिकामा पनि प्रत्येक वडा–वडामा उद्योग सहजकर्ताको आवश्यकता रहेकाले तालिमले सहयोग पु¥याउने नगर प्रमुख शाहीले बताए । उनले तालिममा सहभागी प्रशिक्षकहरुलाई राम्रोसँग दक्ष प्रशिक्षक बन्न आग्रह गरे । 

उद्योग सहकर्ताले रोजगारीका लागि विदेशीने युवाहरुलाई स्वदेशमै रोकी उद्यमी बनाउनु पर्नेमा नगर प्रमुख शाहीले जोड दिए । सरकारले प्रत्येक स्थानीय तहमा लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याएपछी सो कार्यक्रमलाई कम्तीमा २ जना सहजकर्ता चाहिने प्रावधानका कारण पाल्पाका स्थानीयतहमा उद्योग सहजकर्ताको अभाव भएको हो । पाल्पाका स्थानीय तहहरुमा बाहिरी जिल्लाका उद्योग सहजकर्ताले काम गरेपनि दिर्घकालीन रुपमा सहजकर्ताले काम नगर्दा समस्या रहँदै आएकाले तानसेनमै उद्योग सहजकर्ताको तालिम सञ्चालन गर्न थालिएको कलेजका अध्यक्ष सागर पोखरेलले बताए । कार्यक्रममा तानसेन नगरपालिका १ वडा अध्यक्ष राम प्रसाद बस्याल, घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख देवीराम भण्डारी, पत्रकार यज्ञमुर्ती तिमिल्सेना,उद्यमशील सिप विकास केन्द्रका संयोजक वीरविक्रम सुनार लगायतले पछिल्लो समयमा देशभरीका स्थानीय तहमा उद्योग सहजकर्ताको अभाव रहेको बताए । यस्ता तालिमले दक्ष जनशक्ति उत्पादन गरी सरकारको काममा समेत सहयोग पु¥याउने वक्ताहरुले जोड दिए । अहिले डाक्टर इञ्जिनियरको भन्दा उद्योग सहजकर्ताको माग बढी रहेकाले ध्यान दिएर तालिममा सहभागी हुन प्रशिक्षार्थीहरुलाई वक्ताहरुले अनुरोध गरे ।

कलेजकी व्यवस्थापक एञ्जिना बोहोराले अहिले पहिलो सत्रमा पाल्पाका विभिन्न पालिकाहरुबाट ४० जना उद्योग सहकर्ताहरुलाई तालिम प्रदान गर्ने र उनीहरुलाई ६ महिना कोर्षमा तालिम दिने बताईन् ।कलेजमा सिटिभिटी लेवल २ सम्मको प्रमाणपत्र प्रदान गर्ने जनाइएको छ । कलेजकी लेखापाल सीता विकको स्वागत, कार्यकारी निर्देशक रामबहादुर विश्वकर्माको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update