Shittalpati
माथागढीमा तेस्रो त्रैमासिक परीक्षा चैत्र १० देखि

पाल्पा(झडेवा),जिल्लाको माथागढी गाउँपालिका अन्तर्गतका सबै विद्यालयहरुमा यही चैत १० गतेदेखि त्रैमासिक परीक्षा सञ्चालन हुने भएका छन् । गाउँपालिका शिक्षा शाखाको परीक्षा समिति बैठकले शिशुदेखि कक्षा १० सम्मको तेस्रो त्रैमासिक परीक्षा चैत १० देखि १९ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।चैत्र १० गतेदेखी गाउँपालिका भित्रका निजी सहित सरकारी विद्यालयमा तेस्रो त्रैमासिक परीक्षा गरिने निर्णय भएको शिक्षा शाखाका संयोजक गजेन्द्र पंन्थीले जानकारी दिए । उनले माथागढी गाउँपालिका भित्रका सबै विद्यालयहरुमा एउटै मिति र एउटै समयमा बिहान ११ बजेदेखि परीक्षा सञ्चालन गरिने बताए । परीक्षा चैत्र १९ गतेसम्म सञ्चालन हुने भएको छ ।

गाउँपालिकाले परीक्षाको लागि समय तालिका समेत सार्वजनिक गरेको छ  । परीक्षा समितिका संयोजक तथा गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले माथागढी गाउँपालिकाले कोभिड १९ को समयमा पनि आफूहरुले शैक्षिक गतिविधी अघी बढाई विद्यार्थीहरुको शिक्षण सिकाई क्रियाकलापलाई निस्क्रिय हुन नदिएको स्मरण गराउँदै शैक्षिक उपलब्धी वृद्धि गर्न परीक्षाको भूमिका महत्वपूर्ण हुने बताए । उनले विद्यालयमा सञ्चालन हुने चार वटै परीक्षा सम्पन्न गर्ने गरी कार्यक्रम ल्याइएको जानकारी दिए । उनले गाउँपालिकाले शिक्षातर्फ सबै भन्दा बढी रकम विनियोजन गरेको बताए । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले शिक्षा क्षेत्रमा गाउँपालिकाले उदहारणीय कार्य गरेको बताए । शैक्षिक कार्यक्रम संयोजक अशेष भट्टराईले गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा सञ्चालन गरिने तेस्रो त्रैमासिक परीक्षा नियमपूर्वक, अनुशासन र मर्यादापूर्वक गराउन सबै विद्यालयका प्रधानाध्यापकहरुलाई सहयोग गरिदिनुहुन अनुरोध समेत गरे । यस पटक पनि सबै तहको प्रश्नपत्र गाउँपालिकाको शिक्षा शाखाले तयार गरी परीक्षा सञ्चालन गर्ने भएको हो ।

प्रकाशित मिति: सोमबार, चैत २, २०७७  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update