Shittalpati
दुर्घटना रोक्न मदनभण्डारी राजमार्गमा सेफ्टी वाल

गुल्मी, गुल्मीमा रहेको मदन भण्डारी राजमार्ग क्षेत्रमा दुर्घटना रोक्न सडक सेफ्टी वाल निर्माण गर्न थालिएको छ । उक्त राजमार्गको कालोपत्रे गरिएको दुर्घटना हुने जोखिम क्षेत्रमा सेफ्टी वाल निर्माण गर्न थालिएको हो । बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले वाल निर्माण कार्य अगाडि बढेको छ । तम्घासदेखि सिमलटारीसम्मको २८ किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको जोखिम स्थान र घुम्तीहरुमा सेफ्टी वाल निर्माण गर्न थालिएको हो ।

कालोपत्रे सडक भइसकेपछि सवारी साधानको गति तिब्र हुने र दुर्घटना पनि बढ्ने भएपछि सडकको छेउमा सेफ्टी वाल निर्माण गर्न थालिएको मदनभण्डारी राजमार्गको कार्यालय गुल्मीले जनाएको छ । अहिले दुर्घटना हुने जोखिम घुम्ती तथा भिरहरुमा सडक छेउमा सेफ्टी वाल निर्माण कार्य भइरहेको छ । राजमार्गको सडक छेउमा अहिले ६ सय वटा सिमेन्टेड सेफ्टी वाल, ३ सय वटा तार, जाली र ढुङ्गाबाट निर्माण गरिएको सेफ्टी वाल निर्माण गर्न लािगएको मदनभण्डारी राजमार्गको कार्यालयले जनाएको छ । दुर्घटना रोक्नका लागि अन्य आवश्यक संकेतहरु समेत निर्माण गरिने कार्यालयका निमित्त आयोजना प्रमुख शशांक मिश्रले बताए । उनका अनुसार कालोपत्रे सडकमा दुर्घटना रोक्न ट्राफिक संकेतहरु पहेँलो पलाष्टिक पेन्ट, साइन बोर्ड, जेब्रा क्रसिङ, डेलिनेट, क्याटआइ जस्ता संकेतहरु निर्माण गरिने छ । आगामी चैत मसान्तसम्ममा सक्ने गरि जयमाँ स्वर्गाद्धारी निर्माण कम्पनीले निर्माण कार्य जिम्मा लिएको छ । यसका लागि १ करोड १२ लाख ३० हजार लागत लाग्ने जनाइएको छ ।–अनिल खत्रीबाट

प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update