Shittalpati
पाल्पाको निस्दीमा नेकपाका १ सय २० कार्यकर्ता काँग्रेसमा प्रवेश

पाल्पा,पाल्पाको निस्दी गाउँपालिकामा नेकपाबाट काँग्रेस प्रवेश गर्नेको लर्को लागेको छ । नेकपाको पछिल्ला गतिविधिहरुबाट असन्तुष्टि जनाउदै निस्दीका युवाहरु काँग्रेस प्रवेश गर्ने क्रम बढेको छ । विहीबार नेपाली काँग्रेसले निस्दी गाउँपालिका ६ अर्चले आडमारामा आयोजना गरेको कार्यकर्ता भेटभाट कार्यक्रममा नेकपाका १ सय २० जना सक्रिय नेता,कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् ।

उनीहरुले दुई तिहाईको मत पाएको नेकपाले देशलाई नै संकटमा पार्न थालेपछि काँग्रेसमा प्रवेश गर्न बाध्य भएको बताएका छन् । उनीहरुले भनेका छन् ‘नेकपाको रबैयाबाट हामी आजित भयौ अब काँग्रेसको समाजवादको सिद्धान्तलाई आत्मसात गर्दै काँग्रेसको समर्थन गर्छौ ।’ पार्टी प्रवेश गर्ने नवआगन्तुकहरुलाई नेपाली काँग्रेसका जिल्ला सभापति विरबहादुर रानाले सदस्यता वितरण गर्दै स्वागत गरेका छन् । नवआगन्तुकलाई स्वागत गर्दै सभापति रानाले काँग्रेस जनताको पार्टी भएकाले सधै जनताकै हितमा काम गर्ने बताए । ‘जनताले एक पटक कम्युनिष्टलाई बहुमत दिएर सरकारमा पठाए तर बहुमतको दम्भ देखाउदै नेकपाले जनतालाई निरास बनाएपछि काँग्रेस खोज्दै जनता आएका छन्’सभापति रानाले भने । उनले काँग्रेसका कुनै पनि कार्यकर्ताले कहि कतैबाट असुरक्षित महसुस गर्ने दिन नआउने पनि बताए । आफूलाई अहिले पद भन्दा बढी संगठनको ठूलो चिन्ता रहेको बताउदै सभापति रानाले काँग्रेसका लागि जस्तोसुकै त्याग गर्न तयार रहेकोले सबैको भावना ,मनोआकांक्षालाई आत्मसात गर्दै आफु अघि बढेको धारणा व्यक्त गरे । कोरोना महामारीका बेला भोकभोकै बस्नुपर्दा, बाढी पहिरोले घर, खेतबारी बगाउँदासम्म पनि दुईतिहाइ प्राप्त नेकपाको सरकारले भ्रष्टचार गर्ने बाहेक जनतालाई केही नदिएकाले गलत कामका विरुद्धमा लाग्न सभापति रानाले सबैलाई आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका उपसभापति देवराज ढकाल, नेपाल राष्ट्रिय मगर संघका जिल्ला अध्यक्ष झमनबहादुर राज मगर, महासमिति सदस्यहरु ज्ञानबहादुर गाहा, दान पहादुर पछाई, विष्णु माया ढकाल, रामपुर नगरपालिकाका मेयर रमण बहादुर थापा, काँग्रेसका जिल्ला सदस्य किशोर पंगेनी, तरुणदलका क्षेत्रिय सभापति प्रेम श्रेष्ठ, काँग्रेस निस्दी गाउँपालिकाका संयोजक शालिकराम पाण्डे लगायतले आ–आफ्ना धारणा राखेका थिए । टेकबहादुर रानाको अध्यक्षता, पिताम्बर रानाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update