
सीमा भट्टराई
पाल्पा, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मंगलबार देशैभर श्रीपञ्चमी पर्व मनाइएको छ । माघ शुक्ल पञ्चमीको दिन विद्यारम्भको मुख्य तिथि भएकाले बिहानैदेखि अभिभावकहरूले आ–आफ्ना बालबालिकालाई नजिकैका सरस्वती मन्दिर वा विद्यालयमा लगी सिसाकलम वा खरीले अक्षर लेख्न लगाउँदै अक्षरारम्भ गराएका छन् ।
सरस्वतीको पूजा आराधना गरी विद्यारम्भ गरे सर्वसिद्धि प्राप्त हुने जनविश्वास रहँदै आएको छ । सोही अवसरमा विद्यालयहरुमा नयाँ बालबालिकाहरुलाई सरस्वतीको पूजासँगै अक्षराम्भ गराइने गरिन्छ । चन्द्रमा जस्तो गोरो वर्णकी, हातमा वीणा र पुस्तक लिएकी देवी सरस्वतीलाई भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, वुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरी जस्ता नामले पनि पुकारिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले साहित्यकार, कलाकार, पत्रकार र विद्यार्थीले कलम, कापी, कुर्ची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपम आराधना गर्छन् । लेख्नेको मसी नसकियोस्, बोल्नेको आवाज दुरुस्त रहोस् अनि हेर्नेको नजर खुल्ला रहोस् । क देखि ज्ञ सम्मका वर्णमाला अनि शब्द विन्यासहरुले ज्ञान अभिब्यक्त गर्दा सदैव साथ दिउन्, ए बि सि डि आदिका अक्षरस प्रयोग जारी रहोस्, ब्याकरणले साथ दियोस्, संगीतका सातै सुर अनि अभिनयका सम्पूर्ण रसहरुले साथ दिउन् भनि सरस्वती माताको सबैले जयजयकार गर्ने गर्दछन् । विद्यार्थीलाई सरस्वती स्तोत्र पढ्न लगाउँदै विद्याकी देवी सरस्वतीसँग विद्याकै बरदान माग्ने प्रचलन रहेको छ । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले यसलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रÞमाकी अर्धांगिनी ब्रÞमायणीको उपासनाले ज्ञान, सिद्धी र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । यस दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने विश्वास छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गर्नुका साथै नाक, कान छेडिदिने गरिन्छ ।