Shittalpati
सुरक्षाकर्मी र कर्मचारीलाई डढेलो नियन्त्रण तालिम 

पाल्पा, जिल्लाको रामपुर नगरपालिकामा डढेलो नियन्त्रणका लागि सुरक्षाकर्मी र कर्मचारीलाई तालिम दिइएको छ । नगरपालिकाले गर्मी मौसम सुरु भएसँगै वन डढेलोका घटनाहरु बढ्न सक्ने भएकाले त्यसको नियन्त्रणका लागि लागि सुरक्षाकर्मी र कर्मचारीलाई तालिम दिइएको हो ।

आगलागीको समयमा खटिने कर्मचारी, नगर प्रहरी, नेपाली सेना र नेपाल प्रहरीलाई आगलागी तथा वन डढेलो नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने विषयमा तालिम प्रदान  गरिएको नगरपालिकाले जनाएको छ । तालिममा अग्नी नियन्त्रक यन्त्रको प्रयोग, दमकलको प्रयोग, विभिन्न स्थानमा आगो निभाउने तरिका, भान्छघरको ग्यास आगलागी भएमा अपनाउनु पर्ने विधि र यसको नियन्त्रण, विभिन्न सामग्रीहरुको प्रयोग, वन डढेलो नियन्त्रण लगायतका विषयमा जानकारी गराईएको थियो । तालिमको सहजिकरण गर्दै दुर्गा फायर एक्स्टिङगुइजर एण्ड रिफिलिङ बुटवलका श्याम कुँवरले आगलागी नियन्त्रण गर्न जाँदा अत्यन्तै सावधानिपूर्वक र संयमताका साथ काम गर्नु पर्ने बताए  । उनले आगो नियन्त्रणका लागि वन तथा जुनसुकै स्थानमा दमकलको प्रयोग गर्नु उचित नहुने भन्दै अवस्था र स्थान अनुसार दमकलको प्रयोग गर्न सुझाएका छन् । साथै अग्नी नियन्त्रक यन्त्र प्रयोग गर्ने तरिका, विभिन्न पाउडरको प्रयोग, घर भान्छाको ग्यास चुलोमा आगलागी भएमा कसरी नियन्त्रण गर्ने, घर, कार्यालय , विभिन्न विद्युतिय सामग्रीमा लागेको आगो नियन्त्रण , वनमा लागेको आगो नियन्त्रण लगायतका विषयमा सहजिकरण  गरिएको थियो ।

विभिन्न सामग्रीको प्रयोग सहित गरिएको तालिममा इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख लाल बहादुर सुनारले आगो मान्छेको नजिकको मित्र र शत्रु दुवै भएको बताए । मानव जीवनका लागि आगो महत्वपूर्ण रहे पनि मानविय व्यवहारका कारण आगोले क्षति पु र्‍याउने बताए । उनले आगो बच्चाको पहुँचबाट टाढा राख्नु पर्ने , ग्यासको प्रयोगपछि रेगुलेटर बन्द नगर्दा, विद्युतीय सामान धेरै समय चलाउँदा तथा चार्ज गर्दा ,आगोको प्रयोग पछि राम्ररी ननिभाउँदा आगलागीका घटना घटेको भन्दै यसमा सावधानी अपनाउन आवश्यक रहेको उल्लेख गरे । कार्यक्रममा सब डिभिजन वन कार्यालय रामपुरका प्रमुख  मेघनाथ काफ्लेले डढेलो मानविय क्रियाकलापका कारण आउने प्राकृतिक विपत्ति भएको भन्दै आगलागी नियन्त्रण गर्नु भन्दा लाग्नै नदिनका लागि सावधानी अपनाउनु पर्ने बताए । उनले वन डढेलो रोक्नका लागि पूर्व तयारी गर्नु पर्ने आवश्कता औँल्याए ।

आगलागी भएको स्थानमा खटिँदा आफु सुरक्षित भएर वनको रक्षा गर्नु पर्ने भन्दै विभिन्न सामग्रीको प्रयोग बारे उनले जानकारी दिए । उनले वन डढेलो न्यूनिकरण र नियन्त्रणका लागि मानविय सचेतना आवश्यक रहेको भन्दै वन कार्यालयले पनि विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे । विपद व्यवस्थापन शाखाका संयोजक एवं वडा नं. ९ का अध्यक्ष डिल बहादुर रानाले नगरपालिका भित्रका विभिन्न वन तथा स्थानमा हुन सक्ने सम्भावित आगलागीका घटना न्यूनिकरण र आगलागी भई सकेपछि नियन्त्रणका लागि आवश्यक तयारी स्वरुप तालिमको आयोजना गरेको बताए । उनले आगलागीले विभिन्न जिवजन्तुको बासस्थान र वंश समेत नास गरि पारिस्थितिक प्रणालीमा समेत असर पार्ने हुनाले वन डढेलो हुन निदन सबै सचेत हुनुपर्ने बताए । 

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update