Shittalpati
पाल्पामा पनि सरकार विरुद्ध प्रदर्शन, ‘सरकारको अधिनायकवादी व्यवहारका विरुद्ध संघर्ष’

रामचन्द्र रायमाझी
पाल्पा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले वर्तमान सरकारले अधिनायकवादी चिन्तन र व्यवहार प्रदर्शन गर्न थालेपछि विरोधको संघर्षमा उत्रन बाध्य भएको बताएका छन् । काँग्रेसले प्रतिनिधिसभा विघटन विरुद्ध गरेको देशव्यापी प्रर्दशनको क्रममा पाल्पाको तानसेनमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै पाण्डेले दुई तिहाईको दम्भ देखाएर सरकारले अधिनायकवाद चरित्र प्रदर्शन गरिरहेकाले काँग्रेस विरोधमा उत्रनु परेको बताएका हुन् ।

उनले नेकपाको मेलमिलाप घ्यू बेचुवा र तरवार बेचुवाको जस्तै भएकाले अहिलेको अवस्था सिर्जना भएको बताए । तत्कालिन एमाले र माओवादीले झुक्काउन कोही बाँकी नभएपछि अन्तमा एक आपसलाई नै जुक्काउने गरी घ्यू बेचुवा र तरबार बेचुवाको जस्तो योजना बुनेकाले यस्तो अवस्था आएको नेता पाण्डेले बताएका हुन् । उनले नेकपाको अपवित्र गठबन्दनका कारण प्रतिनिधिसभा विघटन भएको भन्दै त्यो कदम असंवैधानिक र अलोकतान्त्रिक भएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीबाटै लोकतान्त्रिक संविधान संकटमा पर्न थालेको नेता पाण्डेले टिप्पणी गरे । उनले भने ‘मुलुकमा काँग्रेसको अगुवाइ र समर्थनबिना कुनै पनि परिवर्तन सम्भव नभएकाले संकटमा पर्दै गएको वर्तमान लोकतान्त्रिक व्यवस्थालाई कायम राख्न काँग्रेस सडक संघर्षमा उत्रिनुपरेको हो ।’ नेता पाण्डेले सरकारले भ्रष्टाचार बाहेक कुनै काम गर्न नसकेको धारण व्यक्त गरे । ‘नेकपाको सरकारले तीन वर्षमा पनि मुलुकमा स्थिरता र सुशासन ल्याउन तथा भ्रष्टाचार नियन्त्रण गर्न सकेन्’ उनले भने । ‘सरकारी विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्ति तथा कोभिड—१९ को नियन्त्रण र उपचारमा उदासीनता र अकर्मण्यता तथा स्वास्थ सामग्री खरिदमा गरिएको भ्रष्टाचारदेखि अनेकन् भ्रष्टाचार काण्ड र बेथितिमा सरकार लिप्त रÞयो ।’ संघीय लोकतान्त्रिक गणतन्त्रका दिशामा सरकारले ध्यान दिन नसकेको उनको आरोप छ । नेता पाण्डेले नेकपा फुटेर काँग्रेसलाई सफलता मिल्यो भनेर चित्रण गर्न नहुने बताए । उनले सरकार असफल हुनु भनेको काँग्रेस सफल हुनु भन्ने बुझियो भने आगामी निर्वाचनमा पार्टीलाई शक्तिशाली तुल्याउन नसकिने धारणा व्यक्त गरे । उनले अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने विश्वास समेत व्यक्त गरे । ‘प्रतिनिधिसभा विघटनको मुद्दा अहिले सर्वोच्च अदालतमा छ । अब न्यायमूर्तीहरुले न्याय दिँदा संविधानको व्यवस्था र भावनालाई हेरेर दिनुहुन्छ भन्ने विश्वास छ,’ उनले भने । ‘हिजो पनि सेटिङको कुरा थियो, आज पनि छ । तर सर्वोच्चले आफ्नो गरिमा कायम गर्ने गरी निर्णय गर्नेछ ।’

काँग्रेसका केन्द्रीय सदस्य हरी नेपालले प्रधानमन्त्री केपी शर्मा ओली संविधानमै नभएको धारा प्रयोग गरेर संविधान विघटन गरेको बताए । उनले हिटलरको शैलीमा प्रधामन्त्रीले एकाएक संविधान विघटन गरेको धारणा व्यक्त गरे । नेता नेपालले नेकपा वर्तमान कार्यशैलीका कारण आगामी निर्वाचनमा पत्तासाव भएर जाने बताए । काँग्रेसको शिक्षा विभाग प्रमुख समेत रहेका उनले नेपालको अव्यवहारिक शिक्षा नितिलाई परिमार्जन गरी व्यवहारी, उत्पादनमूलक र सीपमूलक शिक्षा निति निर्माण गर्न काँग्रेसले आवश्यक छलफल र बहसलाई अगाडि बढाएको जानकारी दिए । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति विरबहादुर रानाले सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध काँग्रेसले आन्दोलन गर्नु परेको बताए । प्रधानमन्त्रीले संविधान विघटन गरेर लोकतन्त्र र संविधान माथि कुठराघात गरेको उनको टिप्पणी थियो । उनले विरोध सभामा सहभागी सबैलाई धन्यवाद दिदै लोकतन्त्र र संविधान सरंक्षणका लागि सबै नेता कार्यकर्ता सजग हुन आग्रह गरे । विरोध प्रदर्शनमा गाउँ गाउँबाट सयौंको संख्यामा जनताहरु तानसेन आएका थिए ।

सोही अवसरमा अन्य पार्टी परित्याग गरी आधादर्जन बढी युवाहरु काँग्रेसमा प्रवेश गरेका छन् । सिल्खानटोलस्थित पार्टी कार्यालयबाट सुरु भएको विरोध ¥याली टुडिँखेल, नाराणस्थान, तेस्रो सडक, हुँदै विशाल बजार पुगेर कोण सभामा परिणत भएको थियो । राष्ट्रिय मगर संघका केन्द्रीय सदस्य ज्ञानबहादुर गाहाको स्वागत, काँग्रेसका जिल्ला सभापति विरबहादुर रानाको सभापतित्व, सचिव अजयमान कर्मचार्यको सञ्चालनमा कोण सभा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update