Shittalpati
चन्द्र भण्डारीले भने ‘कम्युनिष्टहरु विकास र समाज विरोधी भए’

रमेश विश्वकर्मा
गुल्मी, नेपाली काँग्रेसका केन्दीय सदस्य डा.चन्द्र भण्डारीले कम्युनिष्टहरु विकास र समाज विरोधी भएको बताएका छन् । काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध गरेको देशव्यापी प्रर्दशनको क्रममा गुल्मीको तम्घासमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै भण्डारीलेयस्तो बताएका हुन् ।

उनले कम्युनिष्टहरू समाज, संस्कृति र विकास विरोध भएको आरोप लगाउँदै भने,‘हाम्रो देश संस्कृतिले भरिपूर्ण मूलुक हो । तर कम्युनिष्टहरु विकास, सस्कृति र समाज विरोधि भए ।’ नेता भण्डारीले काँग्रेसको नेतृत्वमा बनेको संविधान रक्षाका लागि आफुहरु सक्षम रहेको बताए । संविधानको रक्षाका लागि काँग्रेस नेतृत्वमा जानु आवश्यक रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीले जनताको अभिमतको अपमान गरेको आरोप लगाए । नेता भण्डारीले भने, ‘जनाताले कम्युनिष्टको सरकार पाए । तर कोरोनासँग जुद्धा आईशोलेशन, भेन्टीलेटर पाएनन् । कृषकले मल र बीउ पाएनन् ।’

नेतृत्वमा रहेका कम्युनिस्ट नेताले कार्यकर्ताहरुलाई सर्प जसरी पालेको आरोप लगाउँदै उनले भने, ‘तिम्रा नेताले सर्प पाल्न थाले । सरकार चलेन, समाज चलेन । द्वन्द्व मात्र भयो ।’ नेकपाका शिर्ष नेताहरुको पछिल्लो एक अर्काप्रतिको आरोप–प्रत्यारोपप्रति लक्षित गर्दै नेता भण्डारीले शब्द पनि नभएका नेतालाई दिएको भोट फिर्ता लिन आग्रह गरे । उनले अब संविधानको रक्षा र मूलुकको सम्वृद्धि काँग्रेसबाट मात्र सम्भंव भएको दाबी गरे । कम्युनिष्ट नेताहरु अहिले मूर्ख घोडामा चडेकाले त्यो घोडाबाट तल झर्न नेता भण्डारीले आग्रह गरे ।

नेता भण्डारीले प्रतिकारात्मक रुपमा उदाहरण प्रस्तुत गर्दै भने, ‘हाम्रो जिल्ला जस्तो छ । देशको अवस्था पनि त्यस्तै छ ।’ गुल्मी जिल्लाले चार वटा मन्त्री पाउँदा पनि एउटा सडक बन्न नसकेको आरोप लगाए । सिद्धबाबाको सडकबाट बर्षेनी भइरहेको सडक दुर्घटनाप्रति लक्षित गर्दै उनले भने, ‘ सिद्धबाबाले पार्टी चिन्दैन । चार–चार वटा मन्त्री हुँदा सडकमा पैसा ल्याउन सकेनन् । गुल्मी पछी पर्दै छ ।’ नेपाली काँग्रेसका गुल्मीका पूर्व पार्टी सभापति चन्द्र केसीले मुलुक गम्भीर संकटमा फसेको बताए । उनले भने, ‘नेपाली जनताले बुझेनन् । आफुलाई सुधारौँ । नेपालको संविधान खतरामा छ । बचाउने जिम्मा काँग्रेसको काँधमा छ ।’

काँग्रेसका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक संसद विघटन गरी संविधानको हत्या गरेको आरोप लगाए । विरोध सभालाई उपसभापति बिष्णु प्रसाद बलाल, सचिव खिलध्वज पन्थी, अर्का सचिव विष्णु कुमारी सापकोटा, क्षेत्रिय सभापति भगतसिंङ खड्का, प्रदेश सभापति पूर्ण केसी, नेपाल शिक्षक संघका अध्यक्ष प्रेमनारायण भण्डारी दलित संघका अध्यक्ष लुम बहादुर श्रीपाली लगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  १९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update