Shittalpati
सरकारको असंवैधानिक कदमका विरुद्ध प्रजातान्त्रिक विचार समाजको ध्यानाकर्षण

भरत शर्मा
पाल्पा, नेपाली काँग्रेस निकट प्रजातान्त्रिक विचार समाजले वर्तमान सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमप्रति ध्यानाकर्षण भएको जनाएको छ । समाजले सरकारका पछिल्ला कदमले कानुनी शासनको खिल्ली उडाएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।
आइतबार देशभरका प्रमुख जिल्ला अधिकारीमार्फत समाजले असंवैधानिक कदमका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । पाल्पामा पनि प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेमार्फत सरकारको ध्यानाकर्षण गराइएको समाज पाल्पाका अध्यक्ष त्रिलोचन पौडेलले बताए । समाजको एक टोलीले जिल्ला प्रशासनमै पुगी प्रमुख जिल्ला अधिकारी न्यौपानेलाई विरोधपत्र बुझाएको छ ।
नेपाली जनताको सात दशक लामो बलिदानी र लोकतान्त्रिक आन्दोलनबाट स्थापित नेपालको संविधानको संवैधानिक व्यवस्था र भावना विपरीत प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधि सभा विघटन गरेको घटनाप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको समाजका जिल्लाका अध्यक्ष पौडेलले बताए । ‘सरकारले संविधानको प्रभावकारी कार्यान्वय गर्दै आर्थिक विकास र समृद्धिको दिशामा अगाडि बढ्नुपर्ने राष्ट्रिय दायित्व बिर्सेर असंवैधानिक र अलोकतान्त्रिक कदमको प्रजान्त्रिक समाज घोर भत्र्सना गर्दछ’ विरोध पत्रमा भनिएको छ ।
समाजको केन्द्रीय अध्यक्ष डा.केदारनरसिंह केसी, लुम्बिनी प्रदेशका अध्यक्ष शंकर दिवस मजगैयाँ, पाल्पाका अध्यक्ष त्रिलोचन पौडेलले संयुक्त रुपमा हस्ताक्षर गरेको विरोधपत्रमा अलोकतान्त्रिक, असंवैधानिक र सर्वसत्तावादी कदम सच्याउदै देशलाई संविधानवादको लोकतान्त्रिक दिशामा फर्काउन सरकारलाई आग्रह गरिएको छ ।
लोकतान्त्रिक राज्यमा हरेक समस्याको निकास लोकतान्त्रिक विधि, प्रक्रिया र संविधानप्रदत्त अधिकारको प्रयोगमार्फत गर्नु राज्यको हरेक अंग र पदाधिकारीहरुको संवैधानिक र राजनीतिक जिम्मेवारी हो । तर आफ्नो दलभित्रको आन्तरिक समस्यालाई कारण देखाएर लोकतान्त्रिक प्रणालीको विरुद्ध उत्रिनु, संविधानको धारामा हुँदै नभएको धारा प्रयोग गरी जनप्रतिनिधिमूलक संस्थाको विघटन गर्नु अलोकतान्त्रिक र असंवधैनिक रहेको पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update