Shittalpati
आज ओली समूहले बुटवलमा आमसभा गर्दै

बुुटवल । नेकपा ओली समूहले आज (शनिबार) लुम्बिनी प्रदेशको बुटवलमा आमसभा गर्ने भएको छ । आमसभाका लागि तयारी अन्तिम चरणमा पुगेको ओली पक्षले जनाएको छ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ ओली समूहले आमसभा गर्दैछ । ओली समूहले सभाका लागि जिल्ला जिल्लाबाट कार्यकर्ता उतार्दै छ । सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी ओली आउने कार्यक्रम छ ।

बुटवलमा अहिलेसम्मकै विशाल प्रदर्शन हुने सो पार्टीले जनाएको छ । सभाको पूर्व सन्ध्यामा भएको मोटरसाइकल र्‍याली अघि भएको पत्रकार सम्मेलनमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य शंकर पोखरेलले जनतालई वर्तमान राजनीतिको विषयमा जानकारी दिन अभियान थालिएको बताए । जनमतको अपहरण गर्न खोजेपछि जनतामा जाने फैसला गरिएको भन्दै उनले प्रचण्ड र माधवकुमार नेपालकै कारण प्रतिनिधिसभा विघटनको स्थिति आएको जिकिर गरे । ‘प्रचण्ड र माधव नेपाल पार्टी एकता र जनमतको पक्षमा उभिएको भए, संसद् विघटन हुने थिएन’ लुम्बिनी प्रदेश इन्चार्जसमेत रहेका पोखरेलले भने, ‘प्रधानमन्त्रीलाई कमजोर बनाउने खेल खेलेकै कारण ताजा जनादेशमा जान खोजिएको हो ।’

नेकपा ओली समूहले बुुटवलमा हुने आमसभालाई आफ्नो शक्ति प्रदर्शनको हिसाबले निकै महत्वका रुपमा प्रचार गरेको छ । मुख्यन्त्री पोखरेलले बुटवलमा हुने प्रदर्शन ऐतिहासिक हुने जिकिर गरेका छन् । उनले जनसभामा दुई लाखको जनसहभागिता रहने दाबी समेत गरेका छन् । ओली समूहले यसअघि लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यका, धनगढी र चितवनसहित काठमाडौंमा शक्ति प्रदर्शन सहित जनसभा गरिसकेको छ । त्यसकै निरन्तरता स्वरुप आज बुटवलमा जनसभा हुन लागेको जनाइएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन १, २०७७  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update