Shittalpati
रामकुमारी झाँक्री रिहा भइन्

पाल्पा, प्रहरीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई रिहा गरेको छ । राज्यविरुद्धको कसुरको आरोपमा पक्राउ परेकी झाँक्रीलाई प्रहरीले सामान्य सोधपुछपछि बिहीबार साँझ रिहा गरेको हो । राजनीतिक प्रतिशोधले पक्राउ गरिएको भन्दै चौतर्फी विरोध भएपछि सरकारको निर्देशनमा प्रहरीले झाँक्रीलाई तत्काल रिहा गरेको जनाइएको छ ।
झाँक्रीलाई विहीबार शंखमुलस्थित उनको निवासबाटै प्रहरीले पक्राउ गरेको थियो । गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने ढंगले र एकल महिलाप्रति लक्षित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले एक प्रेस विज्ञप्ति जारी गरी लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन नसक्ने बताएका थिए । झाँक्रीको गिरफ्तारीले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाएको प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको थियो । ‘विवाह एनिभर्सरी’ मनाउँन साथीभाइसँगै घरमै रहेकी नेतृ झाँक्रीलाई पक्राउ गर्न सादा पोसाकमा प्रहरी शंखमुलस्थित उनको घरमै पुगी घर घेराउ गरेको झाँक्री बताएकी थिइन् । उनले पक्राउ परे लगत्तै सामाजिक सञ्जालमार्फत राज्य विरूद्धका कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको र अपराध अनुसन्धान मिनभबनमा भएको जानकारी गराएकी थिइन् । उनले सबै साथीहरुलाई धैर्य रहन आग्रह गर्दै लेखेकी छिन् ‘यो अन्तिम लडाई हो । आफ्नो ठाउँमा डटौं ।’ यसअघि उनलाई महानगरीय प्रहरीले सोधपुछका लागि बोलाएको थियो । लगत्तै सादा पोसाकका प्रहरी शंखमूल पुगेका थिए । झाँक्रीले उनीहरूलाई पहिले पक्राउ पुर्जी लिएर आउन भनेकी थिइन् । प्रहरीले पक्राउ पुर्जी लगेपछि उनले गिरफ्तारी दिएकी थिइन् । नेकपा दाहाल नेपाल समूह निकट युवा विद्यार्थीले अपराह्न माइतीघरदेखि नयाँ बानेश्वर चोकसम्म विरोध प्रदर्शन गरेका थिए । झाँक्रीलाई पक्राउ गर्नु नागरिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको भन्दै विभिन्न राजनीतिक दल र नेताहरूले सरकारको आलोचना गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, माघ २९, २०७७  २०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update