Shittalpati
कृषिका लागि छुट्याईएका दुई कार्यक्रम सकियो

पाल्पा(माथागढी), माथागढी गाउँ सरकारले कृषि क्षेत्रका लागि छुट्याएका कार्यक्रम तथा योजना मध्ये दुई वटा कार्यक्रम सकिएका छन् । गाउँपालिकाले चालु आर्थिक वर्षका लागि छुट्याएका ९ वटा कार्यक्रम तथा योजनाहरु मध्ये ६ महिनाको अवधिमा दुई वटा कार्यक्रमहरु मात्र सकिएको हो । गाउँपालिकाको आठौँ गाउँसभामा कृषी क्षेत्र तर्फ प्रस्तुत गरिएका कार्यक्रम तथा योजनाको प्रगती विवरणमा सार्वजनिक गरिएको छ ।

सार्वजनिक कार्यक्रममा ९ वटा कार्यक्रम तथा योजना मध्ये २ वटा कार्यक्रम सम्पन्न भएको र बाँकी ७ वटा कार्यक्रमहरु भने कार्यान्वयनको चरणमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले बताए । सम्पन्न कार्यक्रमहरुमा २ लाखको ५० प्रतिशत अनुदानमा विभिन्न जातका हिउँदे तरकारी वीउ विजन वितरण, १ लाखको ५० प्रतिशत अनुदानमा गौतम जातको गहुँको वीउ वितरण रहेका छन् ।

यसै गरी सम्पन्न हुन बाकी रहेका र कार्यान्वयनका चरणमा रहेका कार्यक्रमहरुमा २ लाखको ५० प्रतिशत अनुदानमा कृषियन्त्र तथा उपकरण वितरण,२ लाखको एक गाउँ एक उत्पादन ५० प्रतिशत अनुदान कार्यक्रम अन्तर्गत आलु पकेट कार्यक्रम वडा नं ७ मा सञ्चालनमा रहेको, २४ लाखको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम अन्तर्गत साना ब्यवसायिक कृषि उत्पादन पकेटको लागि आवेदन संकलन सम्पन्न, यसै गरी १७ लाख ५० हजारको विदेशबाट फर्किएका कृषकहरुलाई लक्षित गरी ५० प्रतिशत अनुदानमा साना कृषियन्त्र खरिद कार्यक्रम रहेका छन् । त्यस्तै, कोभिड १९ बाट प्रभावित भई गाउँ फर्किएका कृषकहरुका लागि २० लाखको उत्पादन सामग्रीमा ५० प्रतिशत अनुदान कार्यक्रमको लागि सूचना प्रकाशित गरी आवेदन संकलन, २ लाखको ५० प्रतिशत अनुदानमै एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत कुरिलो पकेट कार्यक्रम वडा नं १ मा कुरिलो खेती तालिम तथा वीउ विजन वितरण कार्यक्रम सञ्चालन र १ लाखको व्यवसायिक फुल खेतीमा अनुदान कार्यक्रमको लागि कृषक छनौट गरिएको बताइएको छ । गाउँ सभाले सर्वसम्मत रुपमा प्रस्ताविक कार्यक्रम तथा योजनाहरुलाई स्वीकृत गरेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २९, २०७७  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update