Shittalpati
गुल्मीमा पनि काँग्रेस आवद्ध शुभेच्छुक संस्थाहरुको विरोध प्रदर्शन

गुल्मी, गुल्मीमा पनि नेपाली कांग्रेसमा आवद्ध शुभेच्छुक संस्थाहरुले प्रतिनिधिसभा विघटन विरुद्धमा बिरोधसभा गरेका छन् । शनिबार नेपाली कांग्रेसको जिल्लास्थित पार्टी कार्यालय वी.पी. स्मृति भवन तम्घासमा नेपाल ट्रेड युनियन काँग्रेस सहित जिल्लामा क्रियाशिल एक दर्जन भन्दा बढी शुभेच्छुक संस्थाहरुको आयोजनामा विरोधसभा गरिएको हो ।

विरोध सभामा बोल्ने वक्ताहरुले नेपाली काँग्रेसले मात्र नेपालको संविधानको रक्षा गर्ने बताएका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलिले गत पौष ५ गते प्रतिनिधि सभा विघटन गरेर संविधानलाई मार्न खोजेको आरोप लगाएका छन् । संविधान विपरित गरिएको प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको विरोध सभामा बोल्ने वक्ताहरुले उल्लेख गरे ।

कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका जिल्ला सदस्य महेन्द्रप्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै नेपाल राष्ट्रिय मगर संघका केन्द्रीय उपाध्यक्ष श्रीप्रसाद भलामी, नेपाल शिक्षक संघका केन्द्रीय उपमहासचिव धना भण्डारी, नेपाली कांग्रेस गुल्मी क्षेत्र नं. २ का क्षेत्रीय सभापति भगतसिंह खड्काको विशेष आतिथ्यता रहेको थियोे । नेपाली कांग्रेस गुल्मीका आमन्त्रित जिल्ला सदस्य धर्मराज पाण्डे लगायतका जिल्लास्थित नेताहरु, नेपाली कांग्रेसका भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेखनीय उपस्थित रहेको थियो ।

कार्यक्रम नेपाल ट्रेड युनियन कांग्रेसका गुल्मी जिल्ला अध्यक्ष रेशम कुँवरको अध्यक्षता तथा नेपाल शिक्षक संघ गुल्मीका जिल्ला अध्यक्ष प्रेमनारायण भण्डारीको संचालनमा सम्पन्न भएको हो । शुक्रबार देखि मौसममा आएको प्रतिकुलताका कारण विरोध सभा कार्यक्रम पार्टी कार्यालयमा गरिएको नेपाल प्रेस युनियन गुल्मीका सचिव रमेश विश्वकर्माले बताए । उनले यदि मौसममा प्रतिकुलता नआएको भए पुर्व निर्धारित कार्यतालिका अनुसार कार्यक्रम हुने उल्लेख गरे ।

प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update