Shittalpati
ताजा जनादेश : नेकपा–जनसभाको सन्देश

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शुक्रबार काठमाडौँमा जनसभा आयोजना गरी ताजा जनादेशका लागि निर्वाचनको तयारीमा जुट्न सन्देश दिएको छ । सभामा शीर्ष नेताले अब निर्वाचनले मुलुकको फैसला गर्ने भन्दै मुलुक निर्वाचनउन्मुख भएको बताएका छन् । नेकपाको बागमती प्रदेश कमिटीले नारायणहिटी दरबार सङ्ग्रहालयको अगाडिको सडकमा आयोजना गरेको सभामा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, पार्टीका सचिवालय सदस्यद्वय उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापालगायत नेताले मुलुकको समृद्धि र स्थायित्वका लागि ताजा जनादेशको विकल्प नभएकाले मुलुक निर्वाचनमा होमिएको बताएका हुन् । सभामा सहभागी हुन यस प्रदेशका १३ जिल्लाका साथै देशभरिबाट नेकपाका नेता कार्यकर्ता आएका थिए ।

गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले निर्वाचनको विरोधमा कार्यक्रम गर्दै आएकामा शुक्रबार नेकपाले निर्वाचनका पक्षमा प्रदर्शन गरेको हो । आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति तोकिएको छ । प्रदर्शनमा ‘कम्युनिष्ट आन्दोलनको रक्षा गरौं : विसर्जनवाद र अवसरवादको विरोध गरौँ, ‘राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ’, ‘नेपाली जनता के भन्छ : केपी ओली ले भन्छ’, ‘आज होइन भोलिलाई : १० वर्ष ओलीलाई’, ‘जनता हामी जाग्दैछौँ : निर्वाचनमा लाग्दैछौँ’, ‘समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा : पूरा गर्छौँ, पूरा गर्छौँ’ जस्ता नारा लगाइएका थिए । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ भएको सभामा राष्ट्रिय झण्डा र नेकपाको चुनाव चिह्न सूर्य फहराउँदै बेलुन उडाइएको थियो । बिहीबार दाहाल नेपाल समूहका आम हड्तालका कारण कतिपय टाढा टाढा रहेका जिल्लाबाट मानिसहरु आउन सकेका थिएनन् । तर यो सभा ऐतिहासिक र सफल रहेको ओली पक्षले जनाएको छ । नेकपाले यस्तै आमसभा आगामी फागुन १ गते लुम्बिनी प्रदेशको बुटवल र फागुन ८ गते प्रदेश नं. १ को विराटनगरमा गर्ने जनाएको छ । –रासस

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  १९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update