Shittalpati
शपथको जवाफ आमहडताल, चपेटामा मजदुर

रामचन्द्र रायमाझी
पाल्पा,प्रतिनिधिसभाको असंवैधानिक विघटन र संवैधानिक नियकामा सिफारिस गरिएकाहरुलाई शपथ ग्रहण गराएपछि नेकपाको दाहाल–नेपाल समूहले बिहीबार आमहडताल घोषणा गर्‍यो । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय सुनुवाईविनै संवैधानिक परिषद्ले सिफारिस गरेका संवैधानिक आयोगका पदाधिकारी तथा सदस्यहरु नियुक्तगरी शपथ गराएपछि त्यसको प्रति जवाफमा प्रचण्ड–माधव समूहले आकस्मिक रुपमा हड्ताल घोषणा गरेको थियो ।
आमहडतालको असर देशभरसहित पाल्पामा पनि परेको छ । बन्दले मजदुरी गरेर खाने निम्न वर्ग मारमा परेका छन् । दिनभरि काम गरेर बिहान बेलुकीको छाँक टार्ने वर्ग बन्दका कारण अझ बढी मारमा परेका हुन् । बगनासकाली गाउँपालिका २ घोरबन्दका मिन कुमाल तानसेन बसपार्कमा भारी बोकेर परिवार पाल्दै आएका छन् । उनलाई प्रचण्ड–नेपाल पक्षले गरेको आमहड्तालको असर परेको छ । अरुको भारी बोकेर दैनिक गुजरा गर्ने कुमाललाई बन्दका कारणले काम नपाउदा परिवारलाई कसरी पाल्ने चिन्ता थपिएको छ । ‘ दैनिक भारी बोकेर ५ जनाको परिवार पाल्दै आएको छु,’ उनले भने, ‘भारी बोक्दा दैनिक चार–पाँच सय रुपैयाँ कमाई हुन्थ्यो । त्यो पनि हुन सकेन ।’बजारमा व्यापारीहरुको सामान ओसार पोसार गरी मजदुरी गर्ने घोरबन्दकै अर्को दिपेन कुमाल पनि बन्द हुँदा मारमा परेका छन् ।

दैनिक ज्यालादारीमा मजदुरी गर्ने उनलाई पनि बन्दका कारणले बेलुका छाक कसरी टार्ने भन्ने चिन्ता लागेको छ । ‘आम हड्तालका कारणले बजार पुरै बन्द छ,’ उनले भने, ‘मैले काम गरेर दिनमा कमाउने तीन–चार सय रुपैयाँ पनि आजका लागि गुम्यो ।’ कुमाल मात्रै होइनन्, बन्दको सकसबाट तानसेन बजारमा डोकोमा तरकारी बेच्दै आएकी तानसेन धुव्र्रघाटकी मीना गहतराज पनि अछुतो रहिनन् । डोकोमा तरकारी बोकेर प्रत्येक दिन तानसेनको बजारमा तरकारी बेच्ने उनी बन्दका कारण मारमा परिन । दिनहुँ जसो विहानै डोकामा तरकारी राखेर दिनभर बजारमा डुल्ने उनी बन्दका कारण साझँ मात्र तरकारी लिएर बजार आईन । तर आमहड्तालका कारण दिनहुँ हुने व्यापार भन्दा कम भएको उनी बताउन्छिन् । उनलाई डोकोमा लिएर आएको सबै तरकारी बेच्न नपाउँदा बेलुका छाक टार्ननै मुस्किल पार्‍र्याे । ‘बन्दले हुने खानेलाई केही प्रभाव पार्दैन,’ उनले भनिन्, ‘हामी दैनिक मजदुरी गरी जीवीकोपार्जन गर्नेलाई बन्दले खाना नै दिँदैन ।’ यस्तै तानसेन बतासेकी पुजा गैरेलाई पनि बन्दले प्रभाव पार्‍र्याे । उनी क्यारेटेमा दैनिक जसो फलफूल लिएर विक्रीका लागि बजार आउने गर्छिन । दिनभर फलफुल विक्री गरेर उनले दिनमा चारदेखि पाँच सय रुपैयाँसम्म आम्दानी गर्थिन तर बन्दका कारण भने विहीबार फलफुल विक्री हुन नसकेको उनको गुनासो छ । तरकारी र फलफुल बेचेर दिनमा चारदेखि पाँच सय रुपैयाँ सम्म कमाउने उनीहरु जस्ता धेरै मजदुरलाई बन्दले छाक टार्न नै ग्राहो भयो । यि त केही प्रतिनिधि पात्र मात्र हुन् । बन्दका कारण धेरै मजदुरहरु मर्कामा परेका छन् ।

बन्दले यातायात, शैक्षिक संस्था र व्यापार–व्यवसाय समेत पूर्ण रुपमा ठप्प रहे । जिल्लाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधनहरु समेत चल्न सकेनन् । शहरी क्षेत्रका सडक तथा बजारमा दुधका गाडी, एम्वुलेन्स, बाईक मात्र फाट्टफुट्ट रुपमा सञ्चालन भए पनि ग्रामीण क्षेत्रमा भने अन्य दिनहरु भन्दा गाडीहरु न्यून मात्रमा चले । देशका विभिन्न ठाउँहरुमा झडपसँगै अप्रिय घटनाहरु घटे पनि पाल्पामा भने त्यस्तो नभएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचाभैयाले बताए । गृहमन्त्रालयले निर्धक्क भएर यातायात व्यवसाय, उद्योगधन्दा तथा पेशा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको पनि आम नागरिकले भने उद्योग, व्यवसाय खोल्न सकेनन् । मन्त्रालयले नेपालको संविधान र प्रचलित कानूनविपरीत शान्ति सुरक्षामा खलल् पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, सर्वसाधारण नागरिकले प्रयोग गर्ने यातायात सञ्चालनमा अवरोधलगायत ध्वांसात्मक एवं अवाञ्छित गतिविधि नगर्न सम्बद्ध पक्षसँग अनुरोध गरेको थियो । शान्ति सुरक्षामा खलल् पुग्ने गरी तोडफोड, आगजनी र जबर्जस्तीलगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा संलग्न हुनेउपर कानूनी कारवाही गरिने मन्त्रालयले चेतावनी दिए पनि नागरिक ढुक्क भएर पेशा व्यवसाय खोल्न सकेनन् । जसले गर्दा बन्द सफल भएको आन्दोलनरत पक्षले दावी गरेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७  १९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update