Shittalpati
कतै निर्वाचनको तयारी कतै सडक आन्दोलन

कृष्ण पोखरेल
पाल्पा, प्रतिनिधिसभा विघटनपछि त्यसको विरोधमा राजनीतिक दलदेखि नागरिक समाजसम्म आन्दोलित छन् । सरकार भने आफ्नो कदमलाई जायज ठहर्‍याउन चुनावको एजेण्डा बोकेर आफैं सडकमा उत्रिएको छ । सर्वोच्च अदालतमा विघटनको संवैधानिक परीक्षण भइरहेको छ, निर्वाचन आयोगमा सत्तारुढ दल विभाजनको किचलो चलिरहेको छ ।

पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि सत्तारुढदलको प्रचण्ड–माधव पक्ष सहित प्रतिपक्षी दल नेपाली काँग्रेस संसद पुनःस्थापनाको माग गर्दै सडक आन्दोलन गरिरहेका बेला निर्वाचन आयोग भने निर्वाचनको तयारीमा जुटेको छ । सरकारले २०७८ बैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेसंगै जिल्ला निर्वाचन कार्यालय पाल्पा सहित देशभरका निर्वाचन कार्यालयहरु तयारीमा जुटेका छन् । सरकारले राजनीतिक दल, कर्मचारी सबैलाई निर्वाचनको तयारीमा जुट्न आग्रह गरेको छ । जिल्ला निर्वाचन कार्यालयले प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका ४ वटै सुरक्षा निकाय तथा राजनीतिक दलहरुसँग निर्वाचनको तयारी तथा सुरक्षाको विषयमा छलफल चलाएको छ । सरकारको नीति नियम र निर्देशन अनुसार निर्वाचनको आवश्यक तयारी र सुरक्षाको लागि पहिलो चरणको बैठक गत पुस २४ गते र दोस्रो चरणको बैठक माघ ९ गते बसेको जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख राजेन्द्र पोखरेलले बताए ।

सर्वदलिय बैठकमा मतदान केन्द्र र स्थल थपघट तथा परिवर्तनको विषयमा छलफल केन्द्रीत भएको, विगतका निर्वाचन केन्द्र र स्थलहरुलाई यथावत राख्दै आवश्यक स्थानमा नयाँ निर्वाचन स्थल थप्नुपर्ने राजनीतिक दलहरुले माग गरेको छलफलमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष डुलबहादुर कुवँरले बताए । निर्वाचन छलफलमा नेकपा दुबै समूहका नेता, नेपाली काँग्रेस, राप्रपा, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति र मंगोल अर्गनाईजेशन, पालिकाका प्रमुखहरुको सहभागिता रहेको थियो । जिल्ला निर्वाचन कार्यालयले सुरक्षा निकाय तथा सर्वपक्षिय बैठकबाट निर्वाचनको लागि २ वटा क्षेत्रका २ सय २६ वटा मतदान केन्द र १ सय १८ वटा मतदान स्थल तोकेको छ । आवश्यकता अनुसार मतदान केन्द्रहरु अझै थप्न सकिने कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयले १० वटै पालिकाहरुका कर्मचारीहरुलाई पहिलो चरणको तालिम यही माग ११ गते सञ्चालन गरी कार्यस्थलमा खटाएको छ । कार्यालयले सहायक नाम दर्ता अधिकारी नियुक्त गरी पाल्पाका १० वटै पालिकामा कामको लागि खटाएको छ । सहायक नाम दर्ता अधिकारीले पालिकास्तरमा मतदाता नामावली प्रकाशन गर्ने, दावी विरोध गर्ने र अन्तिम नामावलीको लागि सिफारिस गर्ने गरी काम शुरु गरेको छ ।

जिल्ला निर्वाचन कार्यालयमा एक दिने तालिममा सहभागी भएर अहिले पालिकामा आएर काममा खटिएको, माघ २० गतेसम्म पालिका स्तरबाट अन्तिम मतदाता नामावली जिल्ला निर्वाचन कार्यालयमा पठाउने तालिममा सहभागी रम्भा गाउँपालिकाकी सहायक नाम दर्ता अधिकारीको रुपमा खटिएकी कल्पना अर्यालले बताइन् । पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, विभिन्न तहका कर्मचारी, वडा अध्यक्ष तथा वडा सदस्यहरु, वडा सचिवहरु बिच मतदाता नामावलीको विषयमा छलफल चलाएको, २०७४ साल देखि पुस ५ गतेसम्म मृत्यु भएका नामावली हटाउने, बिग्रिएको नामावली नागरिता अनुसार सच्चाउने विषयमा वडा–वडामा काम भइरहेको सहायक नाम दर्ता अधिकारी अर्यालले बताइन् । पाल्पामा पुस ५ गतेसम्म १ लाखा ९३ हजार ८५ जना मतदाता रहेका छन् । जसमा ९९ हजार ४ सय ४९ महिला र ९३ हजार ६ सय ३५ पुरुष र १ जना तेस्रो लिङ्गी रहेका छन् । पाल्पामा २०७४ साल मंसिरमा भएको निर्वाचनमा दुबै क्षेत्रबाट तत्कालिन नेकपा एमाले विजयी भएको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update