Shittalpati
संसद् विघटनका विरुद्ध पाल्पाका राजनीतिक दलहरु एक, आन्दोलन भने फरक–फरक

रामचन्द्र रायमाझी
पाल्पा, प्रधामन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि नेपालको राजनीतिमा तरंग छाएको छ । संसद् विघटनविरूद्ध एकाध बाहेक सम्पूर्ण राजनीतिक शक्तिहरु एक ठाउँमा उभिएका छन् । नेकपाभित्रको बलियो घटक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल समूह, नेपाली काँग्रेस, जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र, जनता समाजवादी पार्टी (जसपा) नेपालजस्ता राजनीतिक शक्तिहरुले सरकारको पछिल्लो कदमलाई असंवैधानिक तथा अलोकतान्त्रिक भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

पाल्पामा पनि प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमविरुद्ध सबै राजनीतिक दलहरु आन्दोलनमा छन् । प्रधानमन्त्री ओली नेतृत्वको नेकपा पक्ष मात्र चुनाव भन्दै आफ्नो अभियानमा केन्द्रित छ, भने अन्य राजनीतिक शक्ति आन्दोलनमा छन् । आन्दोलनमा उत्रिनेहरुको माग एउटै जस्तो देखिन्छ, प्रतिनिधिसभा पुनःस्थापना । तर सबै दल एउटै मोर्चामा बसेर आन्दोलन भने गरेका छैनन् । उनीहरुले प्रधानमन्त्रीको संसंद् विघटनको कदम असंवैधनिक रहेको विषयमा एक भए पनि आन्दोलन फरक–फरक गर्दै आएका छन् । विशेषतः पाल्पामा रहेका प्रचण्ड–माधव पक्ष नेकपा, नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र, जनता समाजवादी लगायतका राजनैतिकदलहरु असंवैधानिका विरुद्ध एक भएका छन् भने आन्दोलन फरक –फरक गर्दै आएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध अहिले सबैभन्दा एग्रेसिभ नेकपाको (दाहाल–नेपाल) समूह छ । यही कारण पार्टी पनि विभाजित भएकाले नेकपाको यो समूह ओली विरुद्ध निकै आक्रोशित देखिएको छ । उनीहरुको माग प्रतिनिधिसभा पुनःस्थापना भन्ने छ । प्रतिनिधि सभा पुनस्र्थापना नहुँदासम्म आन्दोलन जारी राख्ने उनीहरुको घोषणा छ । नेपाली कांग्रेसले पनि छुट्टै विरोधका कार्यक्रम तय गरेको छ । काँंग्रेसले एकपटक पाल्पाका दुवै निर्वाचन क्षेत्र स्तरमा विरोध प्रदर्शन गरिसकेको छ । अहिले कांग्रेसले प्रदेश निर्वाचन क्षेत्र केन्द्रित आन्दोलन तय गरेको छ । गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको विरोध गर्ने पार्टी राप्रपाले पनि ओली गरेको संसद विघटनलाई ठिक ठानेको छैन । जिल्लाका अन्य दलहरु पनि ओलीको विरुद्धमा छन् । विरोधका एजेण्डा पनि एउटै छन् । तर उनीहरु मिलेर संगठित आन्दोलन गर्न चाहेका छैनन् । किनभने सबैको आ–आफ्ना एजेण्डा छन् । त्यसैले आ–आफ्नो छुट्टै अस्तित्व देखाउनका लागि उनीहरुले एजेण्डा मिलेर पनि संयुक्त आन्दोलन गर्न चाहेका छैनन् ।

विहीवार तानसेनमा सर्वदलीय बैंठक समेत बसेको छ । प्रधामन्त्री ओलीले चालेको संसद् विघटन गर्ने असंवैधानिक कदमका कारण सिर्जित अवस्थाका बारे छलफल गर्न जिल्लाका क्रियाशिल दलहरु बैंठक बसेका हुन् । बैंठकमा राजनीतिक दलहरुले पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिबाट नेपालको संविधानमा उल्लेखित संवैधानिक प्रावधान, भावना, र मर्म विपरित संसद् विघटन गरिएको प्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले प्रधानमन्त्रीको कदम प्रतिगामी, असंवैधानिक, अलोकतान्त्रिक, स्वच्छाचारी भएको ठहर गर्दै सबै राननीतिक दलहरुले सार्वजनिक गरेका आ–आफ्ना संघर्षका कार्यक्रमहरुलाई सशक्त र प्रभावकारी बनाउदै संयुक्त बैंठकलाई निरन्तरता दिर्दै जाने बताएका छन् ।
सर्वदलीय बैंठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरु सोम प्रसाद पाण्डे, ठाकुर गैरे, नेपाली काँग्रेसका जिल्ला सभापति वीरबहादुर राना, नेकपाका नेता यादव बहादुर रायमाझी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी, राप्रपाका केन्द्रीय सदस्य डुलबहादुर कुँवर, संघीय समाजवादीका केन्द्रीय सदस्य नविन सुनुवार, जनता समाजवादी पार्टीकी नेतृ पुर्मती ढेंगा, नेकपा प्रदेश कमिटी सदस्य नेत्र प्रसाद पाण्डे, नेकपाका जिल्ला सचिव राजेन्द्र विश्वकर्मा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस २३, २०७७  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update