Shittalpati
प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोधमा सहभागी हुन गुल्मी काँग्रेसको आग्रह

रमेश विश्वकर्मा
गुल्मी । नेपाली काँग्रेस गुल्मीले पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरुद्धमा हुन लागेका विभिन्न कार्यक्रमहरुमा सम्पूर्ण जिल्लाबासीहरुलाई सहभागीको लागि आग्रह गरेको छ ।

बुधबार पार्टीका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले एक प्रेस विज्ञप्ति जारी गर्दै वर्तमान प्रधानमन्त्री ओलीको सम्पूर्ण ज्यादतीका विरुद्धमा पार्टी केन्द्रीय समितिले आव्हान गरेको सबै खाले बिरोध कार्यक्रमहरुमा सहभागिताका लागि जिल्ला, क्षेत्र, प्रदेश र स्थानीयतहका सम्पूर्णलाई आग्रह गरेका छन् । केन्द्रीय कार्यक्रम अनुसार यहि पुस २५ गते शनिबार ४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा, माघ ३ गते शनिबार जिल्लाका १२ वटै पालिकामा र माघ ८ गते विहिबार जिल्लाका ९३ वटै वडामा ओलीको असंवैधानिक कदमको विरुद्धमा हुने कार्यक्रममा सबैलाई सहभागिताको लागि आग्रह गरेका हुन् ।


सरकार गठनको पर्याप्त विकल्प हुँदाहुँदै संविधानको अपव्याख्या गरी निर्वाचनको बहानामा जननिर्वाचित निकायलाई बिना कारण भङ्ग गरी देश र जनतालाई आर्थिक बोझ बोकाउने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कार्य निन्दनीय भएको सभापति श्रेष्ठद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सरकारको संविधान विरोधी गतिविधी, लोकतन्त्रमाथीको हस्तक्षेप र जनताको आवाजलाई मुखरीत गर्ने एकमात्र हुँदाखाँदाको संवैधानिक थलो संसदलाई विघटन गरी ताजा जनअनुमोदनका नाममा जनतामा जाने हाँस्यस्पद तर्कले नेपाली जनता निराश बनेको उल्लेख गर्दै सभापति श्रेष्ठले भने,“असंवैधानिक क्रियालाई सच्याएर संसदको पुनःस्थापना गर्नु अहिलेको प्रमुख आवश्यकता हो ।”

दशकौं देखि नेपाली जनताको त्याग, वलिदान र संघर्षबाट प्राप्त उपलब्धीहरुको संरक्षण गर्ने दायित्व पनि नेपाली काँग्रेसको काँधमा छ । शान्ती प्रक्रियाको नेतृत्व देखि संविधानको निर्माण र सम्पूर्ण तहका निर्वाचन गरेर यो संविधानको व्यवहारिक प्रयोग पनि नेपाली काँग्रेसकै अगुवाईमा भएको उनको दाबी छ । त्यसैले अहिले पुनः एकपटक संवैधानिक रुपमा बाटो बिराएको शक्तिलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउने दायित्व पनि इतिहाँसले नेपाली काँग्रेसकै काँधमा सुम्पेको उनले बताए ।

प्रकाशित मिति: बुधबार, पुस २२, २०७७  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update