Shittalpati
संसद् पुनःस्थापना गर्नुको विकल्प छैन : पाण्डे

रामचन्द्र रायमाझी
पाल्पा । विघटित प्रतिनिधि सभाका सांसद तथा नेपाली काँग्रेसका महासमिति सदस्य मोहनप्रसाद पाण्डेले संसद् पुनःस्थापना गर्नुको विकल्प नरहेको बताएका छन् । सोमबार नवजनचेतना दैनिकसँग कुरा गर्दै पाण्डेले लोकतान्त्रिक संविधानको रक्षा र कार्यान्वयनका लागि संसद् पुनःस्थापना गर्नु विकल्प नरहेको बताएका हुन् । उनले प्रधानमन्त्रीको संसद् विघटनको कदम असंवैधानिक भएको भन्दै यसले लोकतान्त्रिक व्यवस्थामा खतरा निम्त्याएको बताए । पाण्डेले भने, ‘प्रधानमन्त्रीले संसद् विघटनको जुन निर्णय गर्नुभयो, यसले संघीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान व्यवस्थालाई सहयोग गर्दैन ।’ पार्टी होस् वा सरकार चलाउँदा समस्या आउँछ । तर प्रधानमन्त्री र पार्टी अध्यक्ष जस्तो गरिमामय पदमा बसेको व्यक्तिले असंवैधनिक कार्य गर्नु गलत रहेको उनको धारणा छ । संघीय सांसदका रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरे पनि संसद्मा जान नपाउनु दुर्भाग्य भयो नि ? भन्ने एनजेडीको जिज्ञासामा पाण्डेले भन्छन् ‘भाग्य, दुर्भाग्य भन्ने कुरा नै छोड्नुस् न, राजनीतिकमा यस्ता घटनाहरु भई नै रहन्छन् यो ठूलो कुरा नै हैन । यहाँ व्यवस्थाकै अपमान भयो । गणतन्त्रकै अपमान भयो । संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने भन्ने व्यवस्था छ ।’ यदि यो प्रतिनिधि सभालाई पुनः ब्यूताउन सकिएन भने आम नागरिकको भावना विपरीत हुने उनको तर्क छ । पाण्डेले आफूलाई अदालतप्रति भरोसा भएको बताउँदै अदालतले यो निर्णयलाई अलोकतान्त्रिक भएको फैसला गर्ने विश्वास समेत व्यक्त गरे । ‘हाम्रो अदालतप्रति भरोसा छ, अदालतले संविधानको मर्म र भावना अनुसार, देशका आमजनताको चाहना अनुसार नै प्रतिनिधि सभा विघटनको यो निर्णय असंवैधानिक छ, अलोकतान्त्रिक छ भन्ने फैसला गर्ने विश्वास हामीले लिएका छौँ,’ उनले भने । गत मंसिर ८ मा सांसद सूर्यबहादुर केसीको निधन पछि पाण्डेले सांसद् बन्ने सौभाग्य प्राप्त गरेका थिए तर त्यो अवसर उनका लागि सांसदको लोगो लगाएकै केही समयमै गुमेको छ । संसद् विघटनका कारण उनको सदनबाट जनताको आवाज बोल्ने अवसर गुमेको हो । उनी समानुपातिक निर्वाचन प्रणाली मार्फत नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए ।

सांसद केसीको निधन भएपछि रिक्त स्थानमा निर्वाचन आयोगले उनलाई निर्वाचित गरेको थियो । शपथपछि पत्रकारहरुसँगै कुरा गर्दै सांसद पाण्डेले लोकतन्त्रको सुदृढीकरण र संघीय संसद्को गरिमा बढाउने काममा केन्द्रित रहेर आफूले भूमिका खेल्ने प्रतिक्रिया समेत दिएका थिए । हिउँदे अधिवेशन नहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद् विघटनको स्वीकृत गरिदिइन् । २०३७ सालमा नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका पाण्डे ०४३ सालमा नेपाल विद्यार्थी संघ त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको सभापति भएका थिए । २०४८ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य भएर काम गरिसकेका उनी यसअघि २०६४ सालको निर्वाचनमा स्याङ्जा क्षेत्र नं ३ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update