Shittalpati
‘प्रचण्ड–माधवको घेराबन्दीकै कारण संसद् विघटन’

कृष्ण पोखरेल
तानसेन । परराष्ट्रमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य प्रदिपकुमार ज्ञवालीले प्रचण्ड–माधवको घेराबन्दीकै कारण संसद् विघटन भएको बताएका छन् । शनिबार तानसेनमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता ज्ञवालीले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षले पार्टीमा हालीमुहाली गर्न नपाएपछि चौतर्फी घेरावन्दी गरेकै कारण बाध्य भएर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको बताएका हुन् । जनताबाट निर्वाचित प्रधानमन्त्रीलाई चौतर्फी घेरावन्दीमा पार्ने, पार्टी सचिवालयलाई गुठगत भेलामा परिणत गर्ने, पद नपाएपछि गम्भीर आरोप लगाउँदै एकल प्रस्ताव दर्ता गरी दुबै पदबाट हटाउन खोजिए पछि मुलुक र पार्टीलाई संकटबाट जोगाउन प्रतिनिधि सभा विघटन गरी जनताको मत लिन ताजा जनादेशमा गएको नेता ज्ञवालीले बताएका छन् । संसद् पुनस्र्थापना हुने संभावना छैन ढुक्क भएर निर्वाचन प्रचार–प्रसारमा लाग्न नेता ज्ञवालीले जिल्लास्तरीय नेता कार्यकर्तालाई अनुरोध गरेका छन् ।

निर्वाचन पछि पार्टी अझै सशक्त भएर आउने र सरकारको पुनः नेतृत्व गर्ने नेता ज्ञवालीले धारणा व्यक्त गरे । अहिले संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था अनुसार, प्रतिनिधि सभा मात्र विघटन भएको हो, प्रदेश सरकार, स्थानीय सरकार, राष्ट्रिय सभा, राष्ट्रपती पद्दती सबै जीवितै छन्, चार महिना पछि पुनःनिर्वाचन मार्फत प्रतिनिधि सभा जीवित हुन्छ फेरि जनताबाट निर्वाचित प्रतिनिधिबाटै शासन सत्ता सञ्चालन हुने तयारी भइरहेको समयमा नेकपा केही नेताहरु प्रतिगमन भयो भनेर सडकमा जानु हास्यास्पद भएको उनले जिकिर गरे । लोकतन्त्रका कुरा गर्ने तर जनतामा जान डराउने नेता कस्ता नेता ? सडक गएका प्रचण्डले भारतीय पक्षले आन्दोलनमा सहयोग चाहेको, विदेशी हस्तक्षेपमार्फत मुलुकलाई अस्थिरतामा खोजेको नेता ज्ञवालीले आरोप लगाए । नेता ज्ञवालीले पार्टी कार्यकर्ताहरुलाई ओली पक्षिय मूल धारलाई छोडी अन्य पक्षमा नलाग्न, गाउँ–गाउँमा पुगी निर्वाचनको प्रचार–प्रसारमा जुट्न आग्रह गरेका छन् । अगुवा कार्यकर्ता भेलालाई केन्द्रीय सदस्य धनेन्द्रराज घिमिरे, झपेन्द्र जिसी, प्रदेश सभासद युवराज खनाल, निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु लगायतले आफुहरु केपी ओलीकै मूलधारमा रहेको र निर्वाचनको तयारी गाउँ–गाउँमा लैजाने तयारीमा लाग्ने बताएका छन् । पाल्पा जिल्ला कमिटी अध्यक्ष नारायण आचार्यको अध्यक्षता, जिल्ला समन्वय समितिका कार्यवाहक सभापति मिरा मरासिनीको धन्यवाद र जिल्ला कमिटी सदस्य रामजी पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस १९, २०७७  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update