Shittalpati
संविधान रक्षाका लागि मेलमिलाप आवश्यक

रामचन्द्र रायमाझी
पाल्पा । संविधान रक्षाका लागि मेलमिलाप आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस पाल्पाले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले संविधानको रक्षाका मेलमिलाप नीति आवश्यक रहेको बताएका हुन् । बीपी कोइरालाको नीति र सिद्धान्तको स्वामित्व लिनुपर्ने कांग्रेस आफै भित्र मेलमिलाप नभएको भन्दै अब आन्तरिक मेलमिलापका माध्यमबाट देशको राजनीतिलाई सही दिशा दिने संकल्प सबैभन्दा पहिले कांग्रेसबाटै हुनुपर्नेमा सहभागीहरुले जोड दिए ।

कार्यक्रममा नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य राजन पन्तले लोकतान्त्रिक प्रणाली र संविधान संकटमा परेकाले त्यसको रक्षार्थ काँग्रेस गम्भिर बन्नुपर्ने बेला आएको बताए । उनले बीपीको मेलमिलाप नीतिलाई अंिगकार गरी काँग्रेसले राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमै ध्यान केन्द्रीत गर्दै गहन छलफल गर्नु अहिले आवश्यकता रहेको औल्याए । नेपाली काँग्रेसका जिल्ला सभापति तथा प्रदेश सांसद विरबहादुर रानाले बीपीको मेलमिलापलाई प्रशंसा र व्याख्या गरेर मात्र हुँदैन, त्यसलाई आत्मसात गरेर अगाडि बढ्न सके मात्रा लोकतन्त्र बलियो हुने बताए । सभापति रानाले मुलुकमा बीपी कोइरालाले देखाएको प्रजातन्त्रको सिद्धान्तमा कम्युनिष्ट पार्टीहरु आएको भन्दै प्रजातन्त्र र लोकतन्त्रलाई बलियो बनाउनका लागि काँग्रेस लाग्नुपर्नेमा जोड दिए । उनले राष्ट्रियता, प्रजातन्त्र र आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’बाट मात्रै सुनिश्चित हुने भन्दै काँग्रेसले ४४ वर्षअघि अबलम्वन गरेको नीति मुलुकको पछिल्लो राजनीतिक घटनाक्रममा झन सान्दर्भिक बनेको धारणा व्यक्त गरे । विभिन्न समुदाय र साम्प्रादायिकबीच मेलमिलापको मूल माध्यम लोकतान्त्रिक संविधान रहेको रानाको भनाइ छ ।

पार्टी सचिव अजयमान कर्मचार्यले पार्टी भित्र कमीकमजोरी हुन सक्छन् त्यसलाई मिलाएर लैजान सक्नु नै महत्वपूर्ण हुने बताए । उनले नेपाली काँग्रेस लोकतन्त्रवादी पार्टी भएकाले चुनावलाई स्वीकार गर्दै सकरात्मक आन्दोलन र चुनावको तयारीमा जुट्न सबैलाई आग्रह गरे । कार्यक्रममा महासमिति सदस्य यमलाल तिमिल्सिनाले वर्तमान अवस्थामा सबै मिलेर जानुको विकल्प नरहेको बताए । नेपाली काँग्रेसका वरिष्ठ नेता राजेन्द्र गोपाल सिंले अहिले काँग्रेसको यात्रा सहज नभएको बताए । उनले निर्वाचन भए पनि नभए पनि नेकपाका कारण काँग्रेसलाई ठूलो चूनौती रहेको धारणा व्यक्त गरे । नेता सिंले काँग्रेस कुनै पनि अवस्थामा नेकपासँग सहकार्य गरेर जान नहुने बताए ।

अर्को वरिष्ठ नेता विधान श्रेष्ठले बीपी कोइरालाले लिएको मेलमिलापको नीतिकै जगमा ०४६ सालको परिवर्तन सम्भव भएको भन्दै उक्त नीतिले राजालाई पनि ठिक ठाउँमा ल्याउन खोजेको तर प्रजातन्त्रलाई राजाले निरन्तर प्रहार गरिरहेपछि देशले गणतन्त्रको बाटो लिएको बताए । मेलमिलाप नीतिकै बाटोबाट गिरिजाप्रसाद कोइरालाले हतियार बोकेर हिँडेका माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको पनि उनको भनाइ थियो ।

नेपाली काँग्रेस क्षेत्र नं १ का क्षेत्रिय सभापति सन्तोष थापा मगरले पार्टी र लोकतन्त्रलाई बलियो बनाउनका लागि आन्तरिक मेलमिलाप बलियो हुनुपर्नेमा जोड दिए । कार्यक्रममा काँग्रेसका पूर्व उपसभापति कृष्ण अधिकारी, काँग्रेस क्षेत्र २ का क्षेत्रिय सचिव यादवसिं कार्की,भानुभक्त न्यौपाने, नेपाल प्रेस युनियनका जिल्ला उप–सभापति पुष्करराज रेग्मी, शिक्षक संघका नन्दा ज्ञवाली, कानुनी सल्लाहकार लाल कुमारी राना, भूपू सैनिकका जिल्ला सभापति विष्णु गाहा, आदिवासी जनजाति संघका अध्यक्ष कृष्ण राना, दलित संघका जिल्ला अध्यक्ष लक्ष्मण हिताङ, महिला संघकी जिल्ला अध्यक्ष गंगा पौड्याल, तरुणदलका जिल्ला सभापति मेजरसिं केसी, नेविसंघका कार्यवाहक जिल्ला सभापति सुरेश बोहोरा लगायतले बीपिको मेलमिलाप नीति अहिलेको समयमा सार्दभिक भएपनि त्यसलाई पार्टीले व्यवहारमा उतार्न नसकेको भन्दै अब पार्टी भित्रैबाट आन्तरिक मेलमिला हुनुपर्नेमा जोड दिए । जिल्ला सभापति विर बहादुर रानाको सभापतित्व, उप–सभापति देवराज ढकालको स्वागत, सचिव झपेन्द्र गहिरेको सञ्चालनमा कार्यक्रम भएको थियो । विहीबार नेपाली काँग्रेसले देशभर नै विभिन्न कार्यक्रमहरुको आयोजना गरी मेलमिलाप दिवस मनाएको छ । बीपी कोइराला, गणेशमान सिंह लगायत कांग्रेसका नेताहरु भारतको निर्वासित जीवन बिताएर मेलमिलाप गर्न स्वदेश फर्केको दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष यो दिवस मनाउँदै आएको हो ।

प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update