Shittalpati
लुम्बिनी प्रदेशका ठाउँ–ठाउँमा प्रचण्ड–माधव गुटको बैठक

हाम्रा संवाददाता
पाल्पा । प्रतिनिधि सभा विघटनपछि विभाजित भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै पक्ष पछिल्लो समय कार्यकर्तालाई तान्न हरसम्भव प्रयास गर्न थालेका छन् । नेकपाको ओली समूह र प्रचण्ड–माधव समूहबीच पार्टीको सम्पत्ति तथा कार्यालयहरुबारे विवाद चलिरहदा प्रचण्ड–माधव समूहले लुम्बिनी प्रदेशका ठाउँ–ठाउँमा कार्यकर्ताको बैंठक र भेला गर्दै हिडेको छ ।
उक्त समूहले आइतबार पाल्पा, गुल्मी, रुपन्देही र कपिलवस्तु लगायत लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा कार्यकर्ता बैंठक तथा भेला गरेको जनाइएको छ । पाल्पा र गुल्मीमा भएका बैंठकमा भने धेरै जसो नेताहरु उपस्थित नभएको पाइएको छ । कतिपयले उपस्थित भएर पार्टीलाई यो अवस्थासम्म ल्याउन भूमिका खेल्ने अर्को पक्षका नेताहरुलाई गाली गरेर फर्केका छन् ।

पाल्पामा विघटित संघीय सांसद तथा युवा नेता सोमप्रसाद पाण्डे, नेता नेत्रप्रसाद पाण्डे लगायतका पूर्व माओवादीका नेताहरुको प्रशस्त सहभागिता रहेको थियो । जिल्ला कमिटीको चौथो बैंठक भनेर ब्यानर टाँसिएको भेलाले १४ गते मंगलबार देशव्यापी रुपमा गर्ने विरोधसभा पाल्पामा पनि व्यापक रुपमा गर्ने निर्णय गरेको स्रोतको दावा छ । बैंठकले अगामी दिनमा हुने कार्यक्रमका लागि कार्य विभाजन समेत गरेको छ । पाल्पाको बैंठकमा केन्द्रीय सदस्यहरु तुलाराम घर्ती बसन्त, ठाकुर गैरे, प्रदेश कमिटी सदस्य यादवबहादुर रायमाझी समेतको व्यापक उपस्थिति रहेको थियो । कार्यक्रम जिल्ला सचिव राजेन्द्र विकको सभापतित्व, नेता खिमानन्द पाण्डेको सञ्चालनमा बैठक भएको थियो । नेकपा पाल्पामा १ सय ४४ जिल्ला सदस्य रहेकोमा बैठकमा ७८ जनाको सहभागिता रहेको स्रोतको दावा छ । यस्तै गुल्मीमा पनि विघटित सांसद गोकर्ण विष्ट निकट र पूर्वमाओवादी तर्फका नेताहरुको सहभागिता रहेको थियो । रुपन्देहीमा घनश्याम भूषाल, बर्दियामा योगेश भट्टराई, कपिलवस्तुमा कृष्ण पन्थी, नवलपरासीमा भगवती चौधरी नेतृत्वमा बैठक वसेर विभिन्न निर्णय गरेको स्रोतको जनाएको छ । अर्घाखाँचीमा केन्द्रीय सदस्यहरु डिलाराम आचार्य रामकुमारी झाक्रीको नेतृत्वमा बैठक भएको छ ।

प्रकाशित मिति: सोमबार, पुस १३, २०७७  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update