Shittalpati
ठूलो आवाज निकाल्ने ३ सय ४२ मोटरसाईकल कारवाहीमा

पाल्पा । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठूलो आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाईकल चलाउने चालकलाई धमाधम कारवाही गर्न थालेको छ । महाशाखाले विगत १ महिनादेखि ठूला आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाईकल चलाउने चालक उपर विशेष अप्रेशन नै चलाई धमाधम कारवाहीको प्रक्रिया अगाडि बढाएको हो । महाशाखाले यसअवधिमा ठूलो आवाज निकाल्ने ३ सय ४२ वटा मोटरसाईकलहरुलाई कारवाही गरेको छ ।

महाशाखाले मोटरसाइकलहरुले ध्वनी प्रदुषण हुने गरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरवाही ढङ्गले चलाउने, जिकज्याक रुपमा चलाउने कार्यहरु कानुनविपरित भएकाले कारवाही गरेको जनाएको छ । चर्को आवाज निकाल्ने र लापरवाही ढङ्गले चलाउन मोटरसाइकलका कारण दुर्घटना निम्तिनुका साथै सर्वसाधरणमा अनावश्यक आवाजका कारण आतंकित तुल्याउने र ध्वनि प्रदुषण हुने भएकाले कारवाही गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले एनजेडी/शित्तलपाटी डटकमलाई जानकारी गराएका छन् ।

जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकलहरुलाई समेत उपत्यकाभित्र सञ्चालनमा कडाइ गरेको महाशाखाले जनाएको छ । यस्ता गलत कार्य गरी चलाउने मोटरसाईकलको विभिन्न माध्यमबाट नम्बर संकलन गर्नुका साथै निग्ररानीमा राखिएको महाशाखाले जनाएको छ । यस्ता किसिमका मोटरसाईकलहरू कतै गुडिरहेको देखेमा ट्राफिक प्रहरीको हटलाईन १०३ मा जानकारी गराईदिनुहुन सम्पूर्ण नागरिकहरूमा महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ९, २०७७  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update